उपराष्ट्रपति कप छनोटमा खेलाडीबाट पैसा उठाइयो, खेलकुद परिषदका पदाधिकारीहरूमाथि आशंका

admin

काठमाडौं, जेठ १२ : राष्ट्रियस्तरको खेलकुद प्रतियोगितामा सहभागिता जनाउन खेलाडीले रकम तिर्नुपर्ने नियम छैन । छनोटदेखि मुख्य प्रतियोगितासम्म खेलाडीले विनाशुल्क प्रतिस्पर्धा गर्न पाउँछन् । तर, भैरहवामा सञ्चालित उपराष्ट्रपति कप छनोटमा आयोजकले सहभागी खेलाडीसँग रकम उठाएको खुलासा भएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेकाे छ ।

प्रतियोगितमा सहभागिताका लागि करातेका ९५ र तेक्वान्दोका ९० खेलाडीसँग जनही दुई हजार दरले तीन लाख ७० हजार उठाएको हो । छनोट चरणमा तीन सय ५० भन्दा बढी खेलाडी सहभागी थिए । जिल्ला खेलकुद विकास समिति रुपन्देहीले प्रतिभाशाली खेलाडीको छनोट र एक्सपोजर दिने उद्देश्यका साथ उपराष्ट्रपति कप छनोट गरेको थियोे । उपराष्ट्रपति कप छनोटमा रुपन्देहीबाट कबड्डीमा दुई, एथलेटिक्समा १०, टेबल–टेनिसमा दुई, तेक्वान्दोमा ६, करातेमा ६ र उसुमा ६ खेलाडीले पहिलो चरण पार गरेका छन् ।

उपराष्ट्रपति कप छनोट चरणमा रुपन्देही, भैरहवा र बुटबलका खेलाडीले ६ इभेन्टमा सहभागिता जनाएका थिए । कबड्डी, एथलेटिक्स, टेबल–टेनिस, तेक्वान्दो, कराते तथा उसु खेलाडीले प्रतियोगितामा भाग लिएका थिए । राष्ट्रिय खेलकुद परिषद्ले केन्द्र, प्रदेश र जिल्लामा हुने प्रतियोगिताअनुसार बजेट छुट्याउने गर्छ । आयोजकले पनि परिषद्बाट प्राप्त बजेटअनुरूप नै प्रतियोगिता सञ्चालन गर्नुपर्छ ।

भैरहवामा सम्पन्न उपराष्ट्रपति कप छनोटमा परिषद्बाट निश्चित बजेट पठाइएको थियो । तर, खेलकुद समितिले परिषद्बाट प्राप्त रकम खेलाडी र अफिसियलको बसोवास तथा खानाका लागि पर्याप्त नभएकाले खेलाडीबाटै रकम उठाएको दाबी गरेको छ । ‘खेलाडी छनोट चरणमा अफिसियल र खेलाडी पनि धेरै भएकाले उनीहरूलाई खाना खुवाउनै बजेट पुगेन,’ रुपन्देही कार्यालय प्रमुख थापाले भने, ‘दिनभर छनोट गर्नुपर्ने हुँदा खाना खुवाउनका लागि रकम संकलन गरिएको हो ।’

जिल्ला खेलकुद समितिले सामुदायिक र निजी विद्यालयबाट सहभागिता जनाएका खेलाडीलाई फरक शुल्क तोकेको थियो । सामुदायिक र निजीतर्फबम खेलाडीबाट प्रतियोगिता सञ्चालन गर्न रकम लिएको जिल्ला खेलकुद समिति रुपन्देहीका कार्यालय प्रमुख संगम थापाले स्विकारेका छन् । ‘हामीले सरकारी र निजी विद्यालयका खेलाडीसँग रकम लियौँ,’ थापाले नयाँ पत्रिकासँग भने ।

परिषद्ले खेलाडी छनोटका लागि एक लाख २० हजार रुपैयाँ पठाएको थापाले बताए । सो रकम छनोटका लागि पर्याप्त नभएको उनले बताए । ‘केन्द्रबाट प्राप्त रकमले प्रतियोगिता आयोजना गर्न पुग्दैनथ्यो, त्यसैले सहयोगस्वरूप केही रकम संकलन गरिएको थियो,’ रुपन्देहीका कार्यालय प्रमुख थापाले भने, ‘हामीले कुनै पनि खेलाडीलाई करकापमा पारेका छैनौँ स्वस्फूर्त आएको सहयोग लिएका हौँ ।’

प्रत्येक जिल्लाका खेलकुद विकास समितिलाई प्रतियोगिता आयोजना गर्न निश्चित बजेट छुट्याएको हुन्छ । त्यो रकमले प्रतियोगिता आयोजना गर्न पुग्छ । भैरहवा जिल्ला खेलकुद समितिले खेलाडीबाट रकम उठाएको मलाई जानकारी छैन । संस्थागत निर्णयभन्दा बाहिर गएर रकम लिएको छ भने गैरकानुनी हो । जिल्ला खेलकुद समिति वा अन्य खेल संस्थाले खेल सञ्चालन गर्न रकम पुग्दैन भन्दैमा खेलाडीसँग रकम उठाउन पाइँदैन । बजेट पुगेन भने हामीलाई भन्ने हो ।

प्रतिक्रिया