टानले अन्नपूर्ण दिवस मनाउने

admin

चिप्लेढुङ्गा, १२ जेठ : पर्यटन प्रवद्र्धनमा विभिन्न गतिविधि गर्दै आइरहेको टे«किङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले अन्नपूर्ण आरोहण दिवस मनाउने भएको छ नेपाललाई विश्व पर्यटन बजारमा चिनाउन एक उत्कृष्ट गन्तव्यका रुपमा चिनिन पुगेको भन्दै पर्यटन व्यवसायीले अन्नपूर्ण आरोहण दिवसलाई विभिन्न कार्यक्रमका साथ मनाउँदै आएका छन् ।

सन् १९५० जुन ३ मा फ्रेन्च नागरिक मौरिस हारर्जोकको टोलीले आठ हजार मिटरभन्दा अग्ला हिमाल चढेका थिए । त्यसमा अन्नपूर्ण (८,०९१) पहिलो चढिएको हिमाल हो । आरोही हार्जोकले अन्नपूर्ण आरोहणपछि लेखेको पुस्तक ‘अन्नपूर्णज’ कुनै समय निकै बिक्री भएको पुस्तकमा पर्दछ । अन्नपूर्ण आरोहणको ६९ वर्ष पूरा भएको छ ।

यसै सन्दर्भमा टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घले पोखरामा रहेका विभिन्न पर्यटन सम्बद्ध सङ्घ संस्थासँग हातेमालो गरेर यो दिवस मनाउन लागेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको छ । गण्डकी प्रदेशमा पर्ने तीन वटा आठ हजार मिटर अग्ला मनास्लु, अन्नपूर्ण र धौलागिरि हिमाल रहेका छन् । अन्नपूर्ण विश्वको १० अग्ला हिमालमा पर्दछ । ‘टुरिजम फर टुगेदर’ भन्ने नाराका साथ टानले यस वर्ष पनि नेपाल पर्वतारोहण सङ्घ (एनएमए) र अन्य पर्यटकीय सङ्घ संस्थाको सहकार्यमा अन्नपूर्ण आरोहण दिवसको पूर्वसन्ध्यामा मादीगाउँपालिका–३ मा रहेको याङ्जाकोट गाउँमा एक रात दुई दिनको घरवास कार्यक्रम गर्न लागेको टानका अध्यक्ष हरि भुजेलले बताउनुभयो ।

साथै जुन ३ अर्थात् यही जेठ २० मा काठमाडाँैबाट पोखरा आउने फ्रान्सेली पर्यटकलाई निःशुल्क बस सेवा तथा पोखरामा खाना र बाससमेत व्यवस्था गरेको भुजेलले जानकारी दिनुभयो । “हामीले नाट्टासँग सहकार्यमा पोखरा आउने फ्रान्सेली पर्यटकलाई एक दिन निःशुल्क यात्राको व्यवस्था गरेका छौँ, होटल सङ्घले एक रातको आवास र रेवान पोखराले दिवा खानाको व्यवस्था गरेको छ ।”

नेपाल पर्यटन बोर्डका प्रमुख मणि लामिछाने पर्यटन प्रवद्र्धनमा सरोकारवाला सङ्घ संस्थासँग हातेमालो गरेर अघि बढ्नसके उपलब्धि हासिल हुने बताउनुभयो । टान पश्चिमाञ्चलले नेपाल पर्यटन बोर्डमार्फत फ्रान्सेली राजदूतावासमा पनि यस बारे जानकारी गराएर फ्रान्सेली पर्यटकलाई पोखरा भ्रमण वातावरण बनाउन पहल गरिने टानका सचिव जीवनराज सापकोटाले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया