दार्चुला, १४ जेठ: छैटौँ विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा छात्रालाई निःशुल्क प्याड वितरण गरिएको छ । गुड नेभर इन्टरनेशनलको आर्थिक तथा प्राविधिक सहयोग तथा सङ्कल्प दार्चुलाको सामुदायिक परियोजना सञ्चालन भएका विद्यालयका छात्रालाई निःशुल्क प्याड वितरण गरिएको हो ।
छात्रामा महिनावारी भएका बेला प्याडको प्रयोग गर्नुपर्छ भन्ने धारणाको विकास गर्न प्याड, साबुन, तौलियालगायतका सामान वितरण गरिएको सङ्कल्पका सामुदायिक परियोजना कार्यक्रम फिल्ड संयोजक विष्णुदत्त जोशीले जानकारी दिनुभयो । मालिकार्जुन गाउँपालिकाका पाँच माध्यमिक विद्यालयका छात्रालाई प्याड वितरण गरिएको छ ।
यो क्षेत्रमा अहिले पनि छात्राहरु महिनावारी हुँदा विद्यालयमा कमै आउने गरेका छन् । महिनावारी भएको बेला चारदेखि पाँच दिनसम्म विद्यालय नआउने गरेका ठाउँका छात्राको धारणामा परिवर्तन ल्याउन सो कार्यक्रम गरिएको जोशीको भनाइ छ । रासस