गाउँपालिकालाई एक बिघा जग्गा दान

कृष्ण रोकाया

लम्की, १५ जेठ:समाजसेवी कर्णप्रताप राणाले कैलालीको जोशीपुर गाउँपालिकालाई एक बिघा १२ कट्ठा ३० धुर जग्गा दान गर्नुभएको छ ।

फाइल फोटो

गाउँपालिकाको भवन निर्माणका लागि जग्गा अभाव भएपछि राणाले सो जग्गा दान गर्नुभएको हो ।

राणाले गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीलाई मङ्गलबार जग्गा नामसारी गरेको लालपुर्जा हस्तान्तरण गर्नुभयो । टीकापुरका स्थायी बासिन्दा राणाले जानकी गाउँपालिकामा रहेको जग्गाको लालपुर्जा हस्तान्तरण गर्दै गाउँपालिकाको आफ्नै भवन बनोस् भनी दान गरेको बताउनुभयो । “मसँग भएको जग्गा जनताको हितका काममा प्रयोग होस् भन्ने चाहना पूरा गर्न दिएको हुँ”, दानवीर राणाले भन्नुभयो, “जग्गा अभावमा भवन निर्माण गर्न नसकेको जानकारी पाएपछि म जग्गा दिन हौसिए ।”

गाउँपालिकाका अध्यक्ष चौधरीले जग्गा उपलब्ध गराउने राणालाई धन्यवाद दिनुभयो । “गत वर्ष पनि भवन निर्माणका लागि एक करोड रकम विनियोजन गरेका थियौँ । जग्गा अभावमा बन्न सकेन । यस वर्ष जग्गाको लालपुर्जा हात लागेको छ । तुरुन्तै भवन निर्माण कार्य शुरु गर्छौं”, भवन अभावमा सेवा प्रवाहमा समस्या भएको बताउँदै अध्यक्ष चौधरीले भवन निर्माण भएमा सेवाग्राही, कर्मचारीलाई समेत काम गर्न सहज हुने बताउनुभयो । गाउँपालिकाको कार्यालय हाल भाडाको घरमा सञ्चालनमा छ ।

भ्रमणको रकमले एम्बुलेन्स किन्ने

जानकी गाउँपालिकाले जनप्रतिनिधिको अवलोकन भ्रमणका लागि छुट्याएको रकम एम्बुलेन्स खरीदमा खर्च गर्ने निर्णय गरेको छ ।

मङ्गलबार बसेको गाउँ कार्यपालिकाको बैठकले भ्रमणका लागि छुट्याइएको रु १० लाख रकमले एम्बुलेन्स खरीद गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताउनुभयो ।

“यहाँ एम्बुलेन्स छैन, गाउँपालिकाका नागरिकले एम्बुलेन्स चाहिए लम्की वा टीकापुरबाट मगाउनुपर्छ”, अध्यक्ष चौधरीले भन्नुभयो, “नागरिकलाई राहत होस् भनी भ्रमण नजाने निर्णय ग¥यौँ ।” गाउँपालिकाका उपाध्यक्ष उमा महतोले सिकाइका लागि भ्रमण आवश्यक भए पनि नागरिकको चाहनालाई प्राथमिकतामा राखेर एम्बुलेन्स खरीद गर्ने निर्णयमा पुगेको बताउनुभयो ।रासस

प्रतिक्रिया