काठमाडौँ : यातायातका सवारी साधनमा प्रेसर हर्नको प्रयोग बढ्दै गएपछि केही दिनदेखि जिल्ला ट्राफिक कार्यालय लहान सिरहाले त्यसको नियन्त्रण गरेको छ । ट्राफिक कार्यालयले पछिल्लो पटक जाँचका क्रममा ट्रक, बस तथा टिपरमा प्रेसर हर्न भेटाएपछि जफत गरेको कार्यालयका ट्राफिक प्रमुख प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।
प्रेसर हर्नबाट निस्कने ध्वनि मानिसले श्रवण गर्न सक्ने मापदण्डभन्दा बढीको हुने भएकाले स्वास्थमा समेत प्रतिकूल असर पर्ने चिकित्सक बताउँछन् ।कार्यालय मातहातका ट्राफिक चेक पोष्टले अचेल सवारी साधनमा प्रयोग भएका प्रेसर हर्न हटाउन समयसमेत दिएको उहाँले जानकारी दिनुभयो । ट्राफिक प्रहरीले दिएको सो समयभित्र हर्नको प्रयोगमा कमी नभए यातायात व्यवस्था कार्यालय र स्थानीय प्रशासनसँग मिलेर संयुक्त रुपमा काम गर्ने जनाइएको छ । खासगरी स्थानीय मार्गमा चल्ने सवारी साधनले निषेधित क्षेत्रमा प्रेसर हर्न प्रयोग गर्ने गरेकाले त्यसको निगरानीमा कडाइ गरिएको बस्नेतले बताउनुभयो ।
उहाँले भन्नुभयो, “कति सवारी साधनमा निषेधित प्रेसर हर्नको प्रयोग भएको भन्नेबारे पहिचान गर्न बाँकी छ, प्रेसर हर्न नियन्त्रणका लागि काम भइरहेको छ ।” । यातायात व्यवस्था ऐन, २०४९ दफा ३९(१) ले प्रेसर हर्न जडान गर्न रोक लगाएको छ । रासस