काठमाडौं, २३ जेठ : सर्वोच्च अदालतको गेटमा सुरक्षाकर्मीले दिनहुँ जाँच गरेर सुर्तीजन्य पदार्थमा कडाइ गरे पनि सर्वोच्च परिसरमा चुरोटका ठुटा, सुर्ती र खैनीका खोल यत्रतत्र छन् । नेपाल बार एसोसिएसनको कार्यालयमा त्यस्तै छ । पान नथुकेको कुनै कुना छैन । कान्तिपुर दैनिकले समाचार छापेकाे छ ।
सार्वजनिक स्थलमा धूमपान निषेध गर्न पटक-पटक फैसला गर्ने न्यायालय मात्रै होइन, ललितपुरको पाटन क्याम्पस, भृकुटीमण्डपको आरआर र ल क्याम्पसमा पनि उस्तै समस्या छ । सर्वोच्चले सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ प्रयोग रोक्न ०६३ र ०७२ मा गरेका फैसला कार्यान्वयन हुनुको साटो प्रयोग बढदो छ ।
वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारी न्यायालय नै सुर्तीजन्य वस्तुको प्रयोग गर्ने ठाउँजस्तो देखिएको बताउँछन् । ‘मुलुकका प्रमुख व्यक्ति दिनभर बस्ने ठाउँको हालत यस्तो छ,’ उनी भन्छन्, ‘अन्य ठाउँमा कस्तो होला ?’ उनले बुधबार बिहान बार अध्यक्ष, सर्वोच्च अदालतका न्यायाधीशलगायत बसेर हेर्दा कार्यालय परिसरमै जताततै सुर्तीजन्य वस्तुका ठुटा र खोल देखिएको बताए । ‘सुरुमा बारको कार्यालय र सर्वोच्च अदालत परिसरमै सुर्तीजन्य वस्तु प्रयोगमा बन्देज लगाउनुपर्छ,’ उनले भने ।
सर्वोच्चले २०६३ मा सार्वजनिक स्थलमा धूमपान निषेध गर्ने फैसला गर्यो । जनहित संरक्षण मञ्चले दायर गरेको रिटमा भएको फैसलाअनुसार घरभित्र वा बाहिरका सार्वजनिक सेवा प्रदायक कार्यालय, निकाय, अस्पताल, शैक्षिक प्रतिष्ठान, सार्वजनिक सवारी साधन, बसपार्क, टिकट काउन्टर, मनोरञ्जन स्थल, सार्वजनिक जमघट हुने स्थान र भवनसमेतमा धूमपान निषेध गरिएको थियो । राज्यले कार्यान्वयन गरेन ।