भारतीय प्रधानमन्त्री मोदी शनिबारदेखि माल्दिभ्स र श्रीलङ्काको भ्रमण गर्ने

admin

नयाँ दिल्ली, २३ जेठ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो कार्यकालको जिम्मेबारी लिएपछि पहिलो विदेश भ्रमण माल्दिभ्समा गर्नुहुने भएको छ । उहाँले यही जुन ८ तारिखका दिन माल्दिभ्सको र त्यसपछि थप एक दिन श्रीलङ्काको भ्रमण गर्नुहुनेभएको हो ।एक दिने माल्दिभ्स भ्रमणका क्रममा उहाँले जुन ८ तारिखकै दिन माल्दिभ्सको संसदमा पनि सम्वोधन गर्नुहुने भएको छ ।

भारतका विदेश सचिव विजय गोखलेले बिहीबार दिएको जानकारी अनुसार प्रधानमन्त्री मोदी ८ गत नै श्रीलङ्का गएर ९ तारिखसम्म रहनुहुने कार्यक्रम छ । गत अप्रिल २१ तारिखका दिन बम आक्रमणमा परी ठूलो जनधनको क्षति भएपछि श्रीलङ्का भ्रमण गर्ने विदेशी नेतामा मोदी नै पहिलो हुनुहुने भएको छ । उहाँको यो भ्रमणलाई श्रीलङ्काको दुःखमा साथ दिन लाएको सन्देशका रूपमा व्याख्या गरिएको छ ।

आक्रमणका कारण दुःख र शोकाकुल अवस्थामा रहेको श्रीलङ्का र त्यहाँका जनतालाई भारतको तर्फबाट सहयोग र साथ रहने विश्वास भ्रमणका क्रममा दिलाइने विदेश सचिव गोखलेले बताउनुभयो । प्रधानमन्त्रीका रुपमा मोदीले पहिलो पटक माल्दिभ्सको भ्रमण गर्न लाग्नुभएको बताइएको छ । यसअघि भारतका प्रधानमन्त्री डा. मनमोहन सिंहले सन् २०११ मा माल्दिभ्सको भ्रमण गर्नुभएको थियो ।

प्रतिक्रिया