काठमाडौँ, ३२ जेठ: निरौला सामुदायिक भवन निर्माणका लागि लगाइएको शिवपुराणबाट रु १६ लाख सङ्कलन भएको छ । बूढानीलकण्ठ नगरपालिका वडा नं ९ स्थित नीलोपुलमा निरौला बन्धु सेवा समाजले आयोजना गरेको शिवपुराणबाट रकम सङ्कलन भएको समितिका सहसचिव सुरेश निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार जेठ २१ गते कलश यात्रा गरी २२ गतेदेखि शुरु गरिएको पुराण शनिबार समापन भएको हो ।
पुराणमा दैनिक करीब पाँच सय भक्तजन उपस्थित रहेको आयोजकले जनाएको छ । आयोजक समितिका सहसचिव सुरेश निरौलाका अनुसार सार्वजनिक भवनको अभाव खड्किइरहेका अवस्थामा सार्वजनिक भवन निर्माणको अभियान चलाइएको हो । सो अवसरमा बटुकहरुको व्रतबन्ध पनि गरिएको थियो । उक्त पुराण वाचन वृन्दावनबाट आउनु भएका पण्डित मनोमन मुराहरि दास र उपवाचक डिकप्रसाद निरौलाले गर्नुभएको थियो ।
पुराणले भवन निर्माण मात्र नभई सामाजिक कार्यप्रति समेत जागरुक गराउने आयोजकले जनाएको छ । काठमाडौँमा बसोबास गर्ने निरौला वंशका बासिन्दाहरुले वैशाख र मङ्सिर पूर्णिमामा सामूहिक चाड मनाउने र बडादशैँमा सामूहिक जमरा राख्ने गरेका छन् । रासस