विषालु च्याउ खाँदा एक बालिकाको मृत्यु , तीन जना बिरामी

राष्ट्रिय समाचार समिति

हेटौँडा, १३ असार : मकवानपुरको विकट गाउँ राम्सिराङमा विषालु च्याउ खाँदा एक बालिकाको मुत्यु भएको छ । तीन जना बिरामी परेका छन् । जङ्गली च्याउ पकाएर खाँदा बिरामी भएकामध्ये १३ वर्षीया बुञ्जीमाया प्रजाको मृत्यु भएको स्थानीयवासी धिराङ आधारभूत विद्यालयका प्रधानाध्यापक बाबुलाल घलानले जानकारी दिनुभयो । विषालु च्याउ खाएर तीन दिनदेखि बिरामी रहेका चेपाङ परिवारका चार जनामध्ये एकको मृत्यु भएको राक्सिराङ–७ का वडाध्यक्ष कुलबहादुर प्रजाले जानकारी दिनुभयो ।



च्याउ खाँदा उनका ४५ वर्षीया बाबु डिबबहादुर चेपाङ, १८ वर्षीया दाई बच्चालाल चेपाङ र सात वर्र्षीय भाइ बाल्टा चेपाङ सिकिस्त बिरामी परेका प्रअ घलानले जानकारी दिनुभयो । घलानका अनुसार कक्षा ६ मा पढ्ने बुन्जीमायाको मृत्यु भएपछि मात्रै च्याउ खाएर बिरामी भएको घटना बाहिरिएको हो ।

बिरामीलाई उपचारका लागि अस्पताल लैजाने प्रयास भइरहेको र विकट भएकै कारण अस्पताल लैजान समस्या परेको वडाध्यक्ष प्रजाले बताउनुभयो । ढिलोगरी जानकारी आए पनि घटनास्थलतर्फ प्रहरी टोली परिचालन भइसकेको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक वीरेन्द्र पनेरुले बताउनुभयो । रासस

प्रतिक्रिया