ठेकेदारलाई दुबईबाट धम्की

admin

काठमाडौं , साउन १५ : चन्दाका लागि निर्माण व्यवसायीलाई संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईबाट धम्की आएको खुलेको छ। धम्क्याउने व्यक्तिले हुलाकी सडकको तीन प्रतिशत सेयरदेखि करोड रुपैयाँसम्म रकम मागेका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले व्यवसायीले दिएको सूचनाका आधारमा विस्तृत अनुसन्धान थालेको छ। त्यस क्रममा दुई जना पक्राउ परेका छन्। उनीहरूको नाम प्रहरीले गोप्य राखेको छ। सीआईबी प्रमुख डीआईजी नीरज शाहीले व्यवसायीलाई मार्ने धम्की दिएर पैसा माग्ने समूहबारे अनुसन्धान भइरहेको बताए।

‘केही फोन दुबईबाट आएको देखिन्छ। केहीले इन्टरनेट फोन प्रयोग गरी धम्क्याएको पायौं’, डीआईजी शाहीले भने, ‘प्रारम्भिक चरणमा दुई जनालाई समातेका छौं। हामी थप अनुसन्धानमै छौं।’ दुबईमा बसेर धम्क्याउने व्यक्तिविरुद्ध अनुसन्धानपछि तथ्यका आधारमा सीआईबीले डिफ्युजन नोटिस जारी गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

उनीहरूले नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरद गौचनको हालतमा पुर्‍याइदिने धम्की दिएका छन्। शान्तिनगरमा गोली हानी गौचनको हत्या भएको थियो। फरक–फरक व्यक्तिले धम्क्याउने गरेको व्यवसायीको भनाइ छ। ‘कुरा राम्रोसँग बुझ्नुस्, सामान्य रूपमा नलिनुहोला, प्रहरीलाई जानकारी नदिनुहोला, केहीले त प्रधानमन्त्री र गृहमन्त्री गुहारे। अब त्यो बन्द गर्नोस्। सजिलो हिसाबले मान्नुभएन भने डेमो देखाउँछु अनि पछुताउनुपर्ला’ भन्दै दिएको धम्कीको रेकर्ड व्यवसायीले सीआईबीमा दिएका छन्।

प्रहरी स्रोतका अनुसार जेलमा रहेका समीरमानसिंह बस्न्त्यातले धम्क्याउने गिरोहलाई ठेकेदारको नामावली पठाएका थिए। प्रहरीले समीरको जेलभित्रको गतिविधि निगरानी गरेको थियो। उनले जेलबाटै पटक–पटक सहयोगीलाई फोन गरेको तथ्य सीआईबीले पाएको छ। पक्राउ परेका व्यक्ति उनकै सहयोगी रहेको खुलेको छ। उनीहरूलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ। समीरले जेलभित्रै बसेर अपराधको जालो बुन्न थालेको निष्कर्ष प्रहरीको छ। प्रहरीले समीरलाई भेट्न गएका र उनले सम्पर्क गरेका व्यक्तिमाथि पनि निगरानी बढाएको स्रोत बताउँछ। जेठ अन्तिम सातादेखि भने धम्की आउन छाडेको छ।

व्यवसायीले प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुखलाई भेटेर सुरक्षा माग गरेका थिए। महासंघका अध्यक्ष रवि सिंहले २९ जना निर्माण व्यवसायीलाई इन्टरनेट कलमार्फत धम्की आएको जानकारी दिए। उनीहरूले ५० लाख देखि १ करोडसम्म रकम मागेका छन्। पछिल्लो डेढ महिनामा धम्की आउने क्रम रोकिएको उनले सुनाए। ‘पहिला दिनकै फोन आएर हैरानी भोग्यौं’, उनले भने, ‘पैसा नदिए मार्नेसम्मको धम्की आयो। सरकारको ध्यानाकर्षण गराएपछि रोकिएको छ।’

प्रतिक्रिया