ओली सरकार सबै कुरामा असफल, विदेश सम्बन्धमा झनै असफल : डा. महत

admin

काठमाडौं ,साउन १७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सह–महामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले वर्तमान सरकार सबै कुरामा असफल भएको आरोप लगाएका छन् । उनले भने,‘आफूले गरेका गलत कामको बारेमा जनस्तरबाटै विरोध भएपछि सरकार जनतासँग झुक्ने परिस्थिति बनेको छ । सरकार तमाम काममा असफल भएको छ ।’

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले सुरु–सुरुमा राष्ट्रियताको बारेमा ठूला–ठूला कुरा गर्ने गरेको र सत्तामा पुगेपछि लम्पसार पर्ने गरेको पनि आरोप लगाए । उनले भने,‘सुरुमा ओली सरकारले राष्ट्रियताको बारेमा ठूलो कुरा गर्यो, उहाँहरुले हाम्रै काँधमा राष्ट्रियता अडेकोजस्तो गर्नुभयो । तर, अहिले लम्पसार हुनुभयो । उहाँहरुको राष्ट्रियताको चर्को नारा भनेको त सत्तामा जाने भ¥याङमात्रै हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै सरकारले जनतासामू झुठो आश्वासनमात्रै दिएको तर बोलेका कुरा पूरा नगरेको आरोप लगाए । उनले भने,‘सरकारले सुशासन, रोजगारी, समृद्धिलगायतका कुरामा खोस्रा कुरा गरेको छ ।’ कांग्रेसले अर्को निर्वाचनमा एक्लै बहुमत ल्याउनेगरि जित्नेपनि उनको दाबी छ । उनले भने,‘हामी अब जनताको पीर, मर्कालाई आत्मसात् गर्दै अघि बढ्छौं ।’ पार्टीले अब संसद र सडक दुवै ठाउँमा आफ्नो गतिशिलतालाई तिव्रता दिने र जनताका आवाज उठाउने महतको भनाई छ ।

वर्तमान सरकार नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्धमा मात्रै नभएर पूरै विदेश सम्बन्धमा असफल भएको उनको आरोप छ । उनले भने,‘सरकारले जनतातिर फर्केर राष्ट्रियताको कुरा गर्छ, तर जुन देशसँग आफ्नो कुरा राख्नुपर्ने हो त्यो देशसँग कुरै गर्न सक्दैन् । लम्पसार परेको छ । त्यसैले यो सरकार विदेश नीतिमा पुरै असफल भएको छ ।’

सर्लाहीमा हत्या भएकोले त्यसको सत्य, तथ्य पत्ता लगाउनको लागि संसदीय समिति बनाउनुपर्ने कांग्रेसले माग गरिरहेको पनि उनले जिकिर गरे । उनले भने,‘हामी मुलुकमा हत्या, हिंसा दोहोर्याउन दिँदैनौं । माओवादीलाई गिरिजाप्रसाद कोइरालाले वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा ल्याउनुभयो ।’ महतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई हिंसाको बाटो त्याग्नको लागि आग्रह गरे । उनले भने,‘विप्लव समूहले हिंसाको कदम रोक्नुपर्छ ।’

महतले सरकारपनि ‘एक्स्ट्रा–जुडिसियल’ बाटोमा जान नहुने तर्क गरे । उनले थपे,‘सरकारले पनि वार्ताको ढोका खोल्नुपर्छ । कानुनको परिधिभित्र रहेर आफ्नो भूमिका खेल्नुपर्छ । विप्लवसँग सरकारले वार्ता गर्नुपर्छ । हामी वार्ताको पक्षमा छौं । तर, विप्लवले पनि हिंसाको बाटो बन्द गर्नुपर्छ । हामी हिंसाको खिलाफमा छौं ।’ उनले पार्टीको जारी केन्द्रिय कार्यसमिति बैठकमा नेताहरुबीच जुहारी नचलेको बरु सकारात्मक छलफल जारी रहेको स्पष्ट पारे । उनले भने,‘महाधिवेशनको सन्दर्भमा हामी छलफलमा जुटेका छौं । महासमितिको बैठकले नयाँ विधान बनायो । अब नयाँ नियामावलीको टुँगो लगाउँछौं ।’ पार्टी यतिवेला पूर्ण रुपमा महाधिवेशन केन्द्रित रहेर संगठन विस्तारको काममा जुटेको पनि उनले विश्वास दिलाए ।

यद्धपी उनले पार्टीभित्रबाट भोलि नै महाधिवेशन गर्नुपर्यो लौ चाहियो भनेर कसैलेपनि नभनेको जिकिर गरे । उनले केन्द्रिय कार्य समितिले बैठकले छिटोभन्दा छिटो अन्तरिम संरचना टुँगो लगाउने स्पष्ट पारे । उनले भने,‘अन्तरिम संरचनाले क्रियाशिल सदस्यता वितरण गर्छ । क्रियाशिल सदस्यताको टुँगो लागेपछि प्रारम्भिक मतदाताको सुचि तयार भएपछिमात्रै महाधिवेशनको मिति, कार्यतालिका तय हुन्छ ।’ महाधिवेशन गर्ने विषयमा पार्टीभित्र खासै विवाद नरहेको उनले जिकिर गरे ।

उनले अन्तरिम संरचना पूरानैलाई समायोजन गर्ने वा नयाँ निर्वाचन गर्ने भन्नेबारे आफूहरु अहिले छलफलमै रहेको सुनाए । तर, पूरानैलाई समायोजन गर्दा राम्रो हुने उनको भनाई छ । उनले भने,‘अन्तरिम संरचनाबारे भोलि वा पर्सीभित्रमा निर्णय हुन्छ ।’ उनले सभापति देउवालगायत आफूहरुलाई एक दिनपनि बढि पदमा बस्न रहर र त्यस्तो रणनीति नभएको स्पष्ट पारे । बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको नेतृत्वमा जाने आकांक्षाले सभापति देउवामाथि आरोप लगाएपनि पार्टीभित्र तर्कपूर्ण बहस तथा छलफल गर्न नसकेको महतको टिप्पणी छ । उनले भने,‘सभापति देउवाजीको स्वभाव नै सबैलाई मिलाएर लैजाने हो, सहमतिमा निर्णय गर्नुहुन्छ । उहाँ कहिल्यैपनि पेलेर जानुपर्छ भनेर हिँड्नुभएन् । उहाँसँग अहिलेपनि बहुमत छ । तर, उहाँले बहुमतको निर्णय लाद्नुभएन् । सभापतिको स्वभाव नै सहमतिमार्फत नै अघि जाने हो ।’

उनले भएकै संरचनालाई समायोजन गरेर संयोजक तोक्दै अघि बढिए भदौभित्र अन्तरिम संरचना बन्ने विश्वास दिलाए । उनले भने,‘र, ६ महिनाभित्र सक्रिय सदस्यको टुँगो लाग्छ, फागुणसम्म मतदाताको टुँगो लाग्छ । अनि महाधिवेशनको कार्यतालिका आउँछ ।’ पार्टीको सभापति अहिलेदेखि नै बाजा बजाएर नहुने भन्दै उनले बरिष्ठ नेता रामचन्द्र पौडेलको विरोधप्रति व्यंग्य गरे । उनले भने,‘महाधिवेशनको कार्यतालिका आएपछिमात्रै नेतृत्वमा जाने चाहना व्यक्त गर्दा हुन्छ । अहिले नै बाजा बजाएर हुँदैन् । अहिलेको सभापति फेरि नेतृत्वको लागि लड्नुहुन्छ कि हुँदैन ? या उहाँ किन लड्नुपर्यो भनेर अहिल्यै नै बहस चलाउन सान्दर्भिक छैन् ।’

अझैपनि पार्टीले गर्नुपर्ने धेरै काम बाँकी रहेको उनले सुनाए । उनले भने,‘अहिलेपनि जागरण कार्यक्रम गर्न बाँकी छ । पहिलो जागरण कार्यक्रम सम्पन्न भयो, दोस्रो र तेस्रो जागरण कार्यक्रम बाँकी छ । संगठन विस्तारमा हामी केन्द्रित हुन्छौं ।’ फरक प्रसँगमा उनले कांग्रेस प्रतिपक्षमा भएरपनि प्रतिपक्षीजस्तो भूमिका खेलेन भनेर गरिएकोप्रति आपत्ति जनाए । उनले भने,‘प्रतिपक्षमा हुँदैमा कुटपिट नै गर्नुपर्छ । मारपिट नै गर्नुपर्छ । रत्नपार्कमा गएर रेलिङ भाँच्नुपर्छ भन्ने छैन् । हामी त मर्यादाभित्र रहेर र प्रक्रियालाई आत्मासात गरेर विरोध गरिरहेका छौं । अब हामी सदन र सडक दुवै ठाउँबाट सशक्त र मर्यादित अनि सक्रिय भूमिका निर्वाह गर्छौं ।’

प्रतिक्रिया