ट्राफिक नियम प्रति सचेतना बढ्दै

कृष्ण रोकाया

रोल्पा, १८ साउन: ट्राफिक सचेतना अभिवृद्धिका कारण रोल्पामा ट्राफिक नियम उलङ्घन गर्ने सवारीसाधनको सङ्ख्या अघिल्लो वर्षको तुलनामा घट्दै गएको देखिएको छ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका अनुसार आर्थिक वर्ष ०७५÷०७६ मा ट्राफिक नियम उलङ्घन गरी कारवाही पर्ने सवारीसाधनको सङ्ख्या दुई हजार ८३४ रहेको थियो । यो सङ्ख्या आव ०७४÷०७५ को तुलनामा ७२४ ले कम हो । आव ०७४÷०७५ मा यो सङ्ख्या तीन हजार ५५८ रहेको थियो ।

 

ट्राफिक नियम उलङ्घन गरेर कारवाहीमा पर्ने सवारीसाधनबाट आव ०७५÷०७६ मा रु १५ लाख ३३ हजार ५०० राजश्व सङ्कलन भएको छ । आव ०७४÷०७५ मा भने त्यसरी उठेको राजश्व रु १८ लाख ८२ हजार रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका इञ्चार्ज अम्बर थापाले जानकारी दिनुभयो । जिल्लामा खुल्दै गरेका नयाँ सडक र बजार विस्तारसँगै सवारीसाधनको सङ्ख्यामा समेत वृद्धि भए पनि ट्राफिक प्रहरी जनशक्ति भने निकै कम रहेको छ । जिल्लाभरको लागि १० जना ट्राफिक प्रहरीले काम गरिरहेका छन् । थोरै जनशक्तिको भरमा काम गर्नुपर्ने बाध्यता रहेको इञ्चार्ज थापाको भनाइ छ ।

सदरमुकाम लिवाङ, होलेरी, सुलिचौर र घर्तीगाउँमा अस्थायी पोष्ट राखेर सेवा दिइरहेका छौ थापाले भन्नुभयो । सवारी चालकलाई सचेतीकरण, अन्तरक्रिया तथा पर्चा पोष्टर वितरणले अघिल्लो वर्षको तुलनामा कारवाही पर्नेको सङ्ख्या कम भएको हो ।रासस

प्रतिक्रिया