मेयर कृषि कार्यक्रमको काम प्रारम्भ

कृष्ण रोकाया

बर्दिवास १८ साउन :महोत्तरी जिल्लाको बर्दिवास नगरपालिकाले मेयर कृषि कार्यक्रमको महत्वाकाङ्क्षी योजना अघि सारेको छ । बर्दिवास–६ को रातु नदी उकासको ७५ बिघा जग्गामा मेयर कृषि कार्यक्रमको योजनामा काम थालिएको नगर कार्यपालिका कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७५÷०७६ को नगरसभाबाट नै पारित यो योजनाभित्र हरितगृह, अन्नबाली तथा तरकारी खेती, फसल बिक्री तथा प्रदर्शन, बागवानी, चिस्यान केन्द्र (शीतभण्डार), माछापालन पोखरी र तरकारी होलसेल केन्द्रसहितका लागि जग्गा छुट्याइएको छ । जम्मा ७५ बिघा जग्गामा सञ्चालन गरिने मेयर कृषि कार्यक्रमअन्तर्गत अन्नबाली तथा तरकारी खेतीका लागि २८ बिघा, हरितगृहका लागि १७ बिघा, पोखरी र फसल होलसेल बिक्री केन्द्रका लागि १० बिघा, बागवानीका लागि सात बिघा र शीतभण्डार निर्माणका लागि दुई बिघा छुट्याइएको नगरप्रमुख बिदुरकुमार कार्कीले जानकारी दिनुभयो ।

यसबाहेक मनोरञ्जनात्मक पार्कका लागि तीन बिघा र प्रशिक्षण एवं तालीम केन्द्र र प्रशासनिक भवनका लागि दुई÷दुई बिघा छुट्याइएको छ । गत आवमै छानिएको यो योजनाअन्तर्गत शीतभण्डार निर्माणको काम रु चार करोडको लागतमा बोलपत्र प्रक्रियाबाट सम्पन्न गरिने गरी प्रक्रिया बढाइ सकिएको नगरप्रमुख कार्कीले बताउनुभयो ।

“मेयर कृषि कार्यक्रममा यसपालि रु नौ करोड रकम विनियोजित छ”, नगरप्रमुख कार्कीले भन्नुभयो, “यो दीर्घकालीन महत्वको भएकाले सम्पन्न हुन केही वर्ष लाग्नसक्छ ।” बाहिर सुनिने टिप्पणीजस्तै यो महत्वाकांक्षी नै योजना भएको नगरप्रमुख कार्कीको भनाइ छ । यद्यपि सुदृढ इच्छाशक्तिबाट बनेको योजना हुँदा आफ्नो कार्यकालभित्रै धेरै काम सम्पन्न भइसक्ने कार्कीले दाबी गर्नुभयो । मेयर कृषि कार्यक्रमको मुख्य उद्देश्यभित्र किसानलाई प्राङ्गारिक खेतीमा उत्साहित गराउनु रहेको कार्की बताउनुहुन्छ ।

अहिले मेयर कृषि कार्यक्रम विस्तृत कार्य योजना प्रस्ताव निर्माणको चरणमा रहेको नगर कार्यपालिकाको कार्यालयले जनाएको छ । यो योजना सम्पन्न हुँदासम्म फलफूल, तरकारी, माछा र अन्नबालीमा बर्दिवास नगरपालिका पूर्णरुपले आत्मनिर्भर हुने बताइएको छ ।
बर्दिवास नगरपालिकाले शुरु गरेको यो योजनाबारे जिल्लाका अन्य स्थानीयतहले पनि चासो बढाएका छन् । रासस

प्रतिक्रिया