काङ्ग्रेसले जनताको मन जित्नेगरी काम गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

मनिषा थापा

काठमाडौँ, ९ भदौ  : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसले जनताको मन जित्ने गरी काम गर्ने समय आएको बताउनुभएको छ । आज यहाँ पत्रकारसँगको कुराकानीमा उहाँले सरकारप्रति जनताको विश्वास गुम्दै गएकाले जनताको मन जित्नेगरी काम गर्नुपर्ने बताउनुभएको हो ।

नेता पौडेलले भन्नुभयो, “सरकारको विकल्पको रुपमा काङ्ग्रेसलाई तयार गर्नुपर्छ । यसका लागि सबै एक भएर अघि बढ्नुको विकल्प छैन ।” पार्टीको महाधिवेशन समयमा नै गर्नुपर्ने र पार्टीभित्र भएका कमी कमजोरीलाई अन्त्य गर्दै जनतामाझ जानुको विकल्प नरहेको उहाँको भनाइ थियो ।
नेता पौडेलले भन्नुभयो, “राजनीतिमा सबै कुरा सबैले एकैनास बोल्छ भन्ने हुँदैन पक्ष–विपक्ष हुन्छ तर जनताको काम गर्ने समयमा त्यो देखिनु हुँदैन ।”

फरक प्रसङ्गमा उहाँले सरकार र यहाँको न्याय प्रणालीप्रति जनतामा अविश्वास बढ्दै गएको बताउनुभयो । कार्यक्रम प्रस्तोता रवि लामिछानेको समर्थनमा उत्रिएका जनताले यसलाई प्रमाणित गरेको नेता पौडेलको भनाइ थियो । लामिछानेसहितका तीन आरोपित व्यक्तिका सम्बन्धमा न्यायोचित छानबिन हुनुपर्नेमा जोड दिँदै उहाँले यो विषय न्यायालयमा पुगिसेकाले न्यायोचित छानबिन हुने अपेक्षा गर्नुभयो । रासस

प्रतिक्रिया