अध्यक्ष तिमिल्सिनालाई रामग्राममा सम्मान

कृष्ण रोकाया

परासी १० भदौ : राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई पश्चिम नवलपरासीस्थित रामग्राम स्तुपमा सम्मान गरिएको छ । स्तुपको विकासमा योगदान पुर्याएको भन्दै उहाँलाई आज नेपाल पर्यटन पत्रकार महासङ्घ पश्चिम नवलपरासी शाखा र रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाले संयुक्तरूपमा सम्मानपत्र र दोसल्लासहित उहाँलाई सम्मान गरेका हुन् ।

भगवान् गौतमबुद्धको अस्तुधातु रहेको स्थल रामग्राम स्तुपको अवलोकनका लागि आज बिहान यहाँ आउनुभएका अध्यक्ष तिमिल्सिनाले स्तुपको विकासका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत बजेट विनियोजनमा भूमिका खेल्नुभएको थियो । अध्यक्ष तिमिल्सिना गत वर्ष नै रामग्राम स्तुपको भ्रमणमा आउँदा यहाँको विकास पछि रहेको भन्दै यसको विकासका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

उहाँको पहलमा स्तुपका लागि आव २०७५÷७६ मा रु ५० लाख र चालु आवमा पनि रु ५० लाख बजेट विनियोजन भएको राष्ट्रियसभा सदस्य रामलखन हरिजनले जानकारी दिनुभयो । गत आवमा विनियोजित बजेटबाट स्तुपमा पर्यटकका लागि विश्रामगृह निर्माणाधीन अवस्थामा छ भने यस वर्ष विनियोजन गरिएको बजेटबाट पनि स्तुपको विकासका लागि खर्च गरिने उहाँले बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले आफूले गरेको प्रतिबद्धताअनुसार स्तुपको विकासमा चासो र अग्रसरता देखाउनुभएकाले सम्मान गरिएको रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष शम्भु उपाध्यायले बताउनुभयो । नेपाल पर्यटन पत्रकार महासङ्घका जिल्ला अध्यक्ष नारायण भण्डारी, केन्द्रीय सदस्य मोहन पौडेल र रामग्राम स्तुप संरक्षण तथा पर्यटन विकास संस्थाका अध्यक्ष उपाध्यायले रामग्राम स्तुप बुद्धसँग सम्बन्धित महत्वपूर्ण स्थल भएर पनि यहाँको भौतिक विकास नभएकाले आगामी दिनमा त्यसतर्फ पनि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रियसभा सदस्य हरिजन, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ता, नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश नं ५ का अध्यक्ष गुणनिधि तिवारी, उद्योग वाणिज्य सङ्घका जिल्ला अध्यक्ष केशव भण्डारीलगायत स्थानीयवासीले पनि उहाँलाई स्तुपमा स्वागत गर्नुभएको थियो । अध्यक्ष तिमिल्सिना आजै रामग्राम नगरपालिकाले आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । रासस

प्रतिक्रिया