अभद्र व्‍यवहारपछि कारबाही गरेका हौ : रसुवा प्रहरी प्रमुख

मनिषा थापा

पिएनपिखबर : रसुवाको टिमुरे सडकखण्डमा अव्यवस्थित पार्किङ हटाउन गएका दुई प्रहरीले एक कन्टेनर चालकलाई कुटपिट गरेको घटना बाहिरिएको छ।

मंगलबार रसुवाको टिमुरे सडकखण्डमा बा६ख ४९२५ नम्बरको कन्टेनरका चालक आशिष तामाङलाई प्रहरी सहायक निरीक्षक र हवल्दारले कुटपिट गरेका भिडियो बाहिरिएपछि रसुवा प्रहरीको सर्वत्र आलोचना भइरहेको छ।

यस घटनाको सत्यतथ्यलाई बुज्न हामीले रसुवा चौकीमा फोन गरेर बुज्दा त्यहाँका नायब उपरीक्षक भोगेन्द्रपुरुष ढकालले उक्त चालकले प्रहरीमाथि दुर्व्यवहार गरेको बताए। उनले भने, ‘ती चालकले जथाभावी गाडी पार्किङ्ग गरेको गाडी हटाउन अनुरोध गर्दा नमानी उल्टै प्रहरीमाथि नै आक्रमण गर्न खोज्नुको साथै अपशब्द पनि बोले।’

सार्वजनिक भिडियोमा प्रहरीले लात हानेको देखिएको छ नी ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘आक्रमक व्यवहार देखाएपछि प्रहरीले नियन्त्रण लिने क्रममा एक लात हानेर लडाउने नै गर्छ। उक्त चालक पनि आक्रमक मुद्रामा आएको कारण एक लात्ती हानिएको हो।’

उक्त घटना बारे अझै छानविन भईरहेको उनी बताउँछन्। प्रहरीले सामान्य कारबाही गर्दा पनि भिडियो बनाई फ़ैलाइएको उनको गुनासो छ।

प्रतिक्रिया