अटो रिक्सामा बेरोजगार युवाको आकर्षण

राष्ट्रिय समाचार समिति

बाजुरा, ५ असोज: युवा भन्ने बित्तिकै गरिखाने ऊर्जा भएको समूह बुझिन्छ । तर पछिल्लो समय श्रम गरेर खाने युवाहरुको सङ्ख्या पातलिँदै गएको छ । ठूलो काम खोज्ने, जागिरलाई मात्र रोजगारी भन्ने मान्यताले यहाँका धेरै युवाहरु बेरोजगार बस्न बाध्य छन् । श्रम गर्नु, उद्यम गरेर खानु जस्ता कामलाई इज्जतसँग जोडेर उनीहरु बरु खाली बस्न राजी छन्, काम गर्न तयार छैनन् ।

तर केही यस्ता युवाहरु पनि छन् जो समाजमा नमूना छन् । कलिलै उमेरमा राम्रो प्रगति गरिरहेका छन् । आफैँले उद्यम गरेर परिवार पालिरहेका छन् । ती नमूना युवा मध्येका हुनुहुन्छ, बडिमालिका नगरपालिका–२ घागरका चक्र महत । उमेरले मात्र २० वर्ष पुग्नुभएका उहाँ अटो रिक्सा चलाउनुहुन्छ । मार्तडीदेखि अछामको साँफेबगरसम्म आउने जाने यात्रुहरुलाई सुविधा दिनुभएको छ । १० कक्षाभन्दा माथि पढ्न नसकेपछि महत भारत जान थाल्नुभयो तर अरुको देशमा काम गर्दा पनि सहनुपर्ने गाली र अपमान उहाँलाई सह्य भएन । फेरि घर फर्कनुभयो । जब पिसविन नामक गैरसरकारी संस्थाले अटोरिक्सा सिकाउने तालीमका लागि सूचना जारी गर्यो उहाँले पनि निवेदन दिनुभयो ।

सवारी चालकमध्ये पनि ट्याक्टर, अटोरिक्सा चलाउनेलाई अरुको जस्तो सम्मान छैन । त्यो कुरा महतलाई थाहा थियो । तर पनि काम सानो नहुने थाहा पाउनुभएका महतले कैलालीको मसुरीमा ३९० घण्टे तालीम लिनुभयो । हाल अटोरिक्सा चलाएरै राम्रो आम्दानी गरिरहनुभएको छ । महतलाई तालीमको सुविधासहित अटोरिक्सा किन्न थप रु एक लाख नगद पनि पिसविन र सेभ द चिल्डे«नको सहकार्यमा सञ्चालित युवा सशक्तिकरण कार्यक्रमले सहयोग गरेको परियोजना संयोजक धर्मबहादुर रोकायाले जानकारी दिनुभयो ।

महतले हाल मासिक रु २० हजार बढी बचत गर्नुहुन्छ । छोटो दूरीका यात्रुहरुको रोजाइ पनि अटो नै हुने र आम्दानी पनि मेहनतअनुसारको भइरहेको महतले बताउनुभयो । महतले सहयोग निकायसँगको सहकार्यमा अटो किनेको भए पनि यहाँका अरु युवाहरुको आकर्षण पनि अटोरिक्सामा देखिन्छ । अटोरिक्सा चलाउने सबैजसोको मासिक आम्दानी रु २० हजार बढी हुने गरेको छ । अहिले भने महत जस्तै उहाँकै गाउँले पारस गिरी पनि अटोरिक्साका मालिक हुनुहुन्छ ।

मार्तडीदेखि साँफेबगरसम्मको ५७ किलोमिटर सडक उकालो आरालो छैन । अटोका लागि उपयुक्त सडक छ, त्यसैले किन्न हैसला बढेको अटो चालकहरुले बताउने गरेका छन् । अटो चलाउनेहरु अधिकांश युवाहरु नै छन् । किन्न पनि सस्तो, चलाउन सहज र यात्रुहरुको आकर्षण पनि अटोमै भएपछि हौसला बढेको गिरीले बताउनुभयो ।

अहिले जिल्लामा तीन वटा अटो रिक्सा आइसकेका छन् । छोटो दूरीको यात्राका लागि जोडी मिलाएर घुम्न जाने युवाहरुकोे रोजाइ पनि अटोरिक्सा नै बनेको छ । यात्रुको सहजताका लागि भन्दा युवाहरुलाई स्वरोजगार बन्न अटोरिक्सा सजिलो माध्यम बनेको छ । युवाहरुकै समूहले अटोरिक्सा चालकहरुको समितिसमेत निर्माण गर्ने तयारी गरेका छन् ।

२५० जनालाई तालीम
युवा सशक्तिकरण परियोजनाले मात्र जिल्लामा २५० बढी युवालाई सीपमूलक तालीम दिइसकेको छ । घरेलु तथा साना उद्योग विकास समिति र सम्बन्धित स्थानीय तहसँग मिलेर तालीम सञ्चालन गर्ने गरिएको छ । गरीबी र विपन्नताका कारण उच्च शिक्षा आर्जन गर्नबाट वञ्चित १८ देखि २२ वर्ष उमेर समूहका युवालाई पिसविनले स्वरोगजार बनाउन तालीम दिने गरेको छ । अटो रिक्सा उदाहरण मात्र हो ।

तालीम लिएकामध्ये ८४ प्रतिशतले आफ्नै उद्यम चलाएर बसेको तथ्याङ्क छ । भारतका मुम्बईमा कुकको काम गर्नेदेखि मलेशियामा वाइरिङको काम तालीम लिएकैहरुले तालीम दिइरहेको पिसविन परियोजना संयोजक धर्मबहादुर रोकायाको भनाइ छ । जिल्लास्तरमा पनि सस बनाउनेदेखि कुखुरापालन, सिलाइकटाइ तथा मोबाइल, घडी मर्मत गर्ने अधिकांश उद्यमी सीपमूलक तालीम लिएकै युवाहरु मध्ये छन् । स्वरोजगार बन्न तालीमपछि सजिलो भएको युवाहरुको भनाइ छ ।

प्रतिक्रिया