दाउरा निकाल्दा बगेर मृत्यु , ६ घर विस्थापित

राष्ट्रिय समाचार समिति

जाजरकोट, ५ असोज : जाजरकोटमा भेरी नदीले बगाएर एक जनाको मृत्यु भएको छ । नदीले बगाएर ल्याएको दाउरा निकाल्न गएका भेरी नगरपालिका–१ कालेगाउँका ५३ वर्षीय मनबहादुर बोहराको मृत्यु भएको हो । बोहराको शव ३५ किलोमिटर टाढा छेडाचौर बगरमा फेला परेको जाजरकोट प्रहरीले जनाएको छ ।

यसैबीच लगातारको वर्षापछि पहिरो जाँदा जाजरकोटको नलगाड नगरपालिका–३ का छ घरपरिवार विस्थापित भएका छन् । छेप्का कैना सडकका कारण पहिरो जाँदा लुहारखेतका दलबहादुर पुन, भूमीलाल पुन, लक्ष्मीप्रसाद शर्मा र मुकुन्द शर्माको घर पहिरोको उच्च जोखिममा परेपछि उनीहरु घर छोडेर आफन्तको घरमा बसेको लक्ष्मीप्रसाद शर्माले बताउनुभयो ।

“घर तल पहिरो जाँदैछ, घरमा माथिबाट जमीन चिराचिरा परेर धाँजा फाटेको छ”, शर्माले भन्नुभयो । त्यसैगरी बाँगेदाराका डम्बर थापा, ललित थापाको घर पहिरोको जोखिमा परेपछि थापा परिवार घरछोडेर विस्थापित भएको छ ।

प्रतिक्रिया