वडाध्यक्षको छोरामाथि कैची प्रहार गर्ने पक्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १० असोज  : धरान–९ गौतमपथस्थित बिमल श्रेष्ठ सञ्चालक रहेको अपएरो नामक कपडा पसलमा कपडा खरीद गर्न गएका पुजन लिम्बूलाई छुरी प्रहार गर्ने एक युवालाई प्रहरीले आज बिहान पक्राउ गरेको छ । लिम्बू धरान–१९ का वडाध्यक्ष पूर्ण लिम्बूका छोरा हुन् । लिम्बूलाई हिजो साँझ पसलमै आक्रमण भएको थियो ।

पसलमा कपडा हेरी रहेका बखत धरान–९ गौतमपथ बस्ने २५ वर्षीय अब्दुल भन्ने कलाम मियाँले कपडा काट्ने कैचीले निज पुजनको दाहिनेतर्फको कोखा र पछाडि ढाडको भागमा तीन ठाउँमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए ।

घटनालगत्तै फरार रहेका मियाँलाई आज धरान–२ भानुचोकमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको इप्रकाका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिनुभयो । मियाँविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता प्रक्रियामा रहेको र घटनाको कारणबारे अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जनाउनुभयो ।

घाइते पुजनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । उहाँको कोखाबाट आन्द्रा निस्किएकाले राति नै शल्यक्रिया गरिएको थियो । घाइतेलाई सर्जरी वाडमा राखिएको छ । उनको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् । रासस

प्रतिक्रिया