पहिचानका मुद्दा कार्यान्वयन गरेरै छाड्छौँ : अध्यक्ष भट्टराई

राष्ट्रिय समाचार समिति

पोखरा, १० असोज : समाजवादी पार्टीका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले देशमा पहिचानको मुद्दा स्थापित गर्दै त्यसको कार्यान्वयन गरेर छोड्ने बताउनुभएको छ । पार्टीको तमुवान राष्ट्रिय समितिको आज यहाँ आयोजित घोषणासभामा पूर्वप्रधानमन्त्री भट्टराईले लामो समयदेखिको एकात्मक सत्ता एवम् सोचका कारण पहिचानको मुद्दा ओझेलमा परेको बताउँदै उक्त मुद्दालाई सही निष्कर्षमा पु¥याएर कार्यान्वयन गराउन पार्टी क्रियाशील रहेको बताउनुभयोे ।

संविधान संशोधनका माध्यमबाट पहिचानको मुद्दाका साथै राष्ट्रपतीय प्रणाली र पूर्ण समानुपातिक संसद् स्थापित गराउने उहाँको भनाइ छ । कार्यक्रममा समाजवादी पार्टीका उपाध्यक्ष हेमराज राई, तमुवान राष्ट्रिय समिति इन्चार्ज रुद्रबहादुर गुरुङ, गण्डकी प्रदेश इन्चार्ज गणेशमान गुरुङलगायतले पहिचान स्थापित नहुँदासम्म आफूहरूको सङ्घर्ष जारी रहने बताउनुभयो । उक्त अवसरमा हुमबहादुर गुरुङ नेतृत्वको ३३ सदस्यीय तमुवान राष्ट्रिय समिति घोषणा गरिएको थियो ।

प्रतिक्रिया