सिकागो, २६ असोज : संयुक्त राज्य अमेरिकाको सिकागोको उत्तरपश्चिम क्षेत्रमा एक अपार्टमेन्टमा गोली चल्दा चार जनाको मृत्यु भएको र एक जना घाइते भएको प्रहरीले जनाएको छ ।
विगत १५ वर्षदेखि अपार्टमेन्टमा बस्दै आएका एक जना ६७ वर्षीय निर्माण मजदूरले त्यही अपार्टमेन्टमा रहेका व्यक्तिमाथि शनिबार राति गोली चलाएका थिए ।
मारिएकाहरुमा तीन जना पुरुष र एक महिला थिइन् । मारिएका व्यक्तिहरु आफ्नो कोठामा खाना खाइरहेका बखत ती मजदूर जबर्जस्ती भित्र पसेर गोली चलाएको प्रहरीले बताएको छ । प्रहरीले ती शंकास्पद व्यक्तिलाई पक्राउ गर्नुका साथै उनीसँग रहेको हतियार बरामद गरेको छ ।
गोली चलाउनुको कारण थाहा हुन सकेको छैन । सिन्ह्वा