धारिलो हतियार प्रहार गरी महिलाको हत्या

राष्ट्रिय समाचार समिति

रुपन्देही, २७ असोज: बुटवल उपमहानगरपालिका– ३ ज्योति नगरकी एक महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । असोज १७ गते नै ६६ वर्षीया टिकीसरा गुरुङको हत्या भए पनि इलाका प्रहरी कार्यालय बुटवलले आज पत्रकार सम्मेलन गरी सो जानकारी गराइएको हो । घरबाट बाख्रा चराउन गएकी गुरुङ साँझसम्म घर नफर्किएपछि खोज तलास गर्ने क्रममा लक्ष्मीनगर सामुदायिक जङ्गलमा उनको शव भेटिएको थियो ।

प्रहरीले हत्याको आरोपमा हेटौँडा उपमहानगरपालिका– ६ घर भई हाल बुटवल ज्योतिनगर बस्ने ४२ वर्षीय राम लामालाई पक्राउ गरेको छ । उनले टाउकामा हँसिया प्रहार गरी मुखमा कपडा कोचेर गुरुङको हत्या गरेको स्वीकार गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

लामालाई असोज २५ गते नुवाकोटको बेलकोटगढीबाट पक्राउ गरिएको उहाँले बताउनुभयो । लामाको साथबाट टिकीसराको हत्यामा प्रयोग भएको हँसिया, कानमा लगाउने सुनका रिङ बरामद गरिएको प्रहरी नायब उपरीक्षक भट्टराईले बताउनुभयो । लामालाई हिरासतमा राखेर कर्तव्य ज्यान र डाँका चोरी मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया