खानेपानी मन्त्री बिना मगरको संघर्ष नै संघर्षको राजनीतिक जीवन

admin

खगेन्द्र हमाल/ काठमाडौं : राजनीति भनेकै संघर्ष र सेवा हो । संघर्ष गर्दा गर्दै जनताको सेवा गर्ने उद्देश्य लिएर एक राजनीतिकर्मी आफ्नो बाटोमा तल्लीन हुन्छ । कम उमेरमै संघर्षका अनगिन्ती पहाड पार गर्दै जीवनका थुप्रै कठिनाइ र चुनौतीहरूलाई चिरेर राजनीतिको केन्द्र भागमा आईपुग्नु भएकी माननीय खानेपानी मन्त्री बिना मगरको दैनिकी जनताको सेवामा बित्ने गरेको छ ।

खानेपानी मन्त्रालयको बाग्डोर सम्हाली रहनु भएकी बिना मगरलाई देशका लागि केही उल्लेखनीय काम गरेर देखाउने ईच्छा छ । कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा मजदुर परिवारमा वि. सं. २०४० मंसिर २२ गते जन्मनु भएकी बिना मगरलाई जन्मजात नै वामपन्थी बन्ने वातावरण मिल्यो । सामाजिक विभेद र शोषणलाई नजिकबाट देख्नुभएकी बिना मगर १० वर्षे जनयुद्ध र माओवादी आन्दोलनमा सहभागी हुँदै कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी हुन सफल हुनु भयो ।

१० वर्षे जनयुद्धमा सहभागी हुँदा २७ महिने नारकीय जेल जीवन व्यतित गर्नु भएकी बिना मगर अहिले राष्ट्रिय राजनीतिमा स्थापित हुनुहुन्छ । कञ्चनपुर उहाँको जन्मभूमि रहेपनि उहाँले अहिले आफ्नो सम्पूर्ण ध्यान देशभरिकै जनताको खानेपानीको समस्या कसरी समाधान गर्न सकिन्छ भनेर लागिरहनुभएको छ ।


वि. सं २०५१ सालताका जनयुद्धको तयारीका क्रममा जनकलाकारका रूपमा राजनीतिमा प्रवेश गर्नुभएकी मगर उतिबेला ५ कक्षाको परीक्षा दिएर बस्नुभएको थियो । अरनिको बस्तीको अरनिको प्राथमिक विद्यालयबाट उहाँले शिक्षा आर्जन सुरु गर्नु भएको हो । उहाँले गौरीशंकर निम्न माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालय पुनर्वासबाट माध्यमिक तहसम्मको शिक्षा आर्जन गर्नु भयो । उहाँले स्नातक तहसम्म शिक्षा आर्जन गर्नुभएको छ ।

जनकलाकारमै सक्रिय रहँदै राजनीतिमा अघि बढ्नु भएकी बिनाले २०५६ सालमा महिलाहरूको हक अधिकार प्राप्तिका साथै सांगठनिक र वैचारिक अवस्था विकास गराउन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको अध्यक्षको कमाण्ड सम्हाल्नुभयो । युद्धताका कञ्चनपुर जिल्लाको फस्र्ट एक्सनमा अगुवाइ गर्नु भएकी बिना उच्च शिक्षाका लागि काठमाडौं प्रवेश गरेपछि होल–टाइमर राजनीतिज्ञ हुनु भयो ।

काठमाडौंमा पनि तत्कालीन अखिल क्रान्तिकारीको विद्यार्थी संगठनमा आबद्ध भएर भित्रि रूपमा नेकपा माओवादी पार्टीको पूर्णकालीन सदस्यको रूपमा उहाँले काम गर्नुभयो । विद्यार्थीका थुप्रै हकअधिकार र जनजीविकाको लागि संघर्ष गरिरहँदा उहाँलाई २०६० सालमा अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला अध्यक्षसम्मको जिम्मेवारी प्राप्त भयो । अखिल क्रान्तिकारीको जिल्ला अध्यक्ष हुँदै उहाँ काठमाडौं उपत्यका जनमुक्ति सेनाको सदस्य र २०६४ सालमा सरस्वती क्याम्पसको स्ववियु सभापतिसमेत बन्नुभयो ।

तत्कालीन सरकारले संकटकाल घोषणा गरेको बेला राज्यको व्यापक धरपकड र दमनबीच बिना मगर २०६० सालमा तत्कालीन शाही नेपाली सेनाको गिरफ्तारीमा पर्नुभयो । उहाँलाई सेनाले भैरवनाथ गणमा २७ महिना हिरासतमा राख्यो र चरम यातना दियो । राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाको दबाबमा उहाँ जीवित रहन सफल हुनु भयो । राजनैतिक यात्राको निरन्तरता मै विद्यार्र्थी आन्दोलनबाट बिदा भई पार्र्टी आन्दोलनमा प्रवेश गरेपछि उहाँले पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाउनुभयो । पार्टी राजनीतिमा प्रवेश गरेपछि उहाँले आफ्नो जन्मभूमि कञ्चनपुरबाटै पार्टी राजनीति गर्ने निर्णय गर्नुभयो ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा उहाँ कञ्चनपुर जिल्लाको १ नम्बर निर्वाचन क्षेत्रबाट प्रत्यक्ष उम्मेदवारमा झिनो मतले पराजित भएपनि २०७४ सालको प्रतिनिधि सभा सदस्यको चुनावमा भारी मतले विजयी हुनु भयो । मतका आधार बिना मगर ७ नम्बर प्रदेशका वाम उम्मेदवार र देशैभरिबाट माओवादीका महिला उम्मेदवारमध्ये सर्वाधिक मतान्तरले जित्ने महिला बन्न सफल हुनुभयो । नेपाली समाजको रुपान्तरणमा उहाँको योगदान, जनताले दिएको मत र उहाँले खेलेको संघर्षपूर्ण भूमिकाको कदर गर्दै नेकपा माओवादी केन्द्र प्रदेश नम्बर ७ बाट एकमतले उहाँको नाम मन्त्री पदका लागि सिफारिस भएपछि पार्टीले उहाँलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिएको छ ।

उहाँले हाँकिरहनु भएको खानेपानी मन्त्रालय अन्तर्गत पर्ने लामो समयदेखि अड्किरहेको मेलम्ची खानेपानी परियोजनाको कार्य लगभग सम्पन्न भैसकेको छ । मेलम्ची खानेपानी परियोजनाको पहिलो चरणको आयोजना सकिएपछि दोस्रो चरणको मेलम्ची आयोजना सुरु हुँदैछ । यो राष्ट्रिय गौरवको आयोजना हो । मेलम्ची बाहेक उहाँ अरु यस्ता धेरै महत्वपूर्ण आयोजनाहरु सुरु गर्ने तयारीमा हुनुहुन्छ । पारिवारिक रुपमा उहाँ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुपुत्र दिवंगत स्व. प्रकाश दाहालको जीवन संगिनी हुनुहुन्छ । उहाँको एक छोरा हुनुहुन्छ । क्रमश……..

प्रतिक्रिया