पर्यटनको विकासका लागि सरकार प्रतिबद्ध– मन्त्री गुरुङ

राष्ट्रिय समाचार समिति

पोखरा, २९ असोज: गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले पर्यटनको विकासका लागि सरकार प्रतिबद्ध भएको बताउनुभएको छ । ट्रेकिङ एजेञ्सिज एशोसिएसन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घको २६औँ वार्षिक साधारणसभाको आज यहाँ उद्घाटन गर्दै उहाँले प्रदेश सरकारले पर्यटनलाई प्राथमिकतामा राखेको बताउनुभयो । पर्यटन यातायात, सञ्चार, सुरक्षा लगायतका हरेक पक्षसँग सम्बन्धित हुने बताउँदै उहाँले यसको विकासका लागि सामूहिक प्रयास आवश्यक हुनेमा जोड दिनुभयो ।



टानका केन्द्रीय अध्यक्ष खुमबहादुर सुवेदीले पदयात्रा सूचना व्यवस्थापन प्रणाली(टिम्स)लाई व्यवस्थित एवं प्रभावकारी बनाइने बताउँदै पदयात्रामा क्रियाशील मजदूरका हकहित र सुरक्षामा आफूहरू प्रतिबद्ध भएको धारणा राख्नुभयो । टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले पदयात्रा पर्यटनमा क्रियाशील पर्यटक सहयोगीका लागि सङ्घले आवश्यकताअनुसार तालीम दिँदै आएको बताउनुभयो ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले जथाभावी बाटो खन्ने नाममा पदमार्ग सङ्कटमा पर्दै गएको बताउँदै पदयात्रा पर्यटनलाई जोगाउन सबैको साथ र सहयोग आवश्यक हुने उल्लेख गर्नुभयो ।कार्यक्रममा पदयात्रा पर्यटनमा समाचार सम्प्रेषणका माध्यमबाट महत्वपूर्ण योगदान पु¥याएको भन्दै टान उत्कृष्ट पत्रकार अवार्डबाट अन्नपूर्ण पोष्टका समाचारदाता कृष्णमणि बराललाई रु १० हजार नगदसहित सम्मान गरिएको थियो ।

उक्त अवसरमा उत्कृष्ट पर्यटक गाइड अवार्डबाट सुनिता गुरुङलाई सम्मान गरिएको थियो भने पर्यटन प्रहरी पोखरा, सगरमाथा आरोही गोपाल श्रेष्ठ, खिमलाल गौतम लगायतलाई सम्मान गरिएको थियो ।कार्यक्रममा नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख काशीराज भण्डारी, टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष एवं सल्लाहकार वसन्तराज दवाडी, सङ्घका सचिव जीवनराज सापकोटा, अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष क्या गमबहादुर गुरुङ लगायतले पदयात्रा पर्यटनले नेपालको पर्यटनमा पारेको प्रभाव लगायतका विषयमा बोल्नुभएको थियो ।

प्रतिक्रिया