महिला हिंसा र बालविवाह अन्त्यका लागि काम गर्छु : मन्त्री गुरुङ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ५ मङ्सिर : नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा, बाल विवाहजस्ता सामाजिक विकृतिका अन्त्यका लागि आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनियताको शपथ लिए लगत्तै सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्दै उहाँले महिला हिंसा र बालविवाह रोक्न सामाजिक दृष्टिकोणमै परिवर्तन ल्याउने खालका कार्यक्रमलाई आफूले प्राथमिकता दिने योजना ल्याउने बताउनुभयो ।

उहाँले पदभार सम्हालेलगत्तै बालविवाह अन्त्य हुने गरी दुई महिनाभित्र राष्ट्रिय कार्ययोजना बनाउने प्रस्ताव पनि स्वीकृत गर्नुभयो । महिला र बालबालिकामाथि हुने हिंसा अन्त्य गर्न सो प्रस्तावलाई अघि बढाउने गरी कार्ययोजना तय गर्न सो प्रस्ताव स्वीकृत गर्नुभएको हो । मन्त्री गुरुङले महिला, बालबालिका, ज्येष्ठ नागरिकको उत्थानका लागि बनाइएका ऐन, नियम र कानूनको प्रभावकारी कार्यान्वयनमा लागि पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिक्रिया