प्रधानमन्‍त्री ओली भेन्टिलेटरमा :एपेन्डिक्स पाकेर पेटमा पनि संक्रमण

राष्ट्रिय समाचार समिति

काठमाडौं, मंसिर १० : एपेन्डिक्स सुन्निएर पाकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको पेटमा संक्रमण भएको चिकित्सकहरुले बताएका छन्। ओलीका निजी चिकित्सक समेत रहेका डा. अरुण सायमीले एपेन्डिक्स सुन्निएर पिप जमेपछि पेटमा संक्रमण देखिएको जानकारी दिए।

‘एपेन्डिक्स सुन्निएर पेटमा जमेको पिप अपरेशन गरेर निकालिएको छ’, सायमीले भने, ‘सुन्निएको एपेन्डिक्स पनि निकालेर उहाँलाई सघन उपचार कक्षमा सारिएको छ।’ अपरेशन सफल भएपछि प्रम ओलीलाई चिकित्सकको निरन्तर निगरानीमा राख्नुपर्ने सायमीले बताए। ‘प्रधानमन्त्रीलाई चिकित्सकको निरन्तर निगरानीको खाँचो छ’, उनले भने, ‘त्यसैले अझै केही दिन उहाँ सघन उपचार कक्षमै रहनुहुनेछ।’

प्रधामन्त्रीको एपेन्डिक्स सुन्निएर एपेन्डिसाइटिस भएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा त्रिवि शिक्षण अस्पतालका डाक्टर रमेशसिंह भण्डारीसहितको टोलीले अपरेशन गरेको थियो। सोमबार रातभरि पेट दुखेर पखालासमेत भएपछि ओलीलाई उपचारका लागि मंगलबार बिहान ९ बजे मनमोहन भास्कुलर सेन्टरमा लगिएको थियो।

मनमोहन ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा‍.डा. उत्तम श्रेष्ठले एपेन्डिसाइटिससहित पेटको संक्रमण बढेको पाइएपछि तत्काल प्रधानमन्त्रीको उपचार गर्नुपरेको जानकारी विज्ञप्तिमार्फत् दिएका छन्।

श्रेष्ठका अनुसार प्रधानमन्त्रीको उपचार ल्याप्रोटोमी र एपेन्डेकटोमी विधिबाट गरिएको हो । ‘प्रधानमन्त्रीको उपचारपछि अहिले उहाँलाई सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको छ’, श्रेष्ठले भनेका छन्, ‘उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको व्यहोरा जानकारी गराइन्छ।’

 

प्रतिक्रिया