साउन यता ६ पटक अस्पताल भर्ना

admin

काठमाडौं, ११ मंसिर: प्रधानमन्त्री ओली साउन यता ६ पटक अस्पताल भर्ना भइसकेका छन्। सिंगापुर जानुअघि प्रधानमन्त्री ओलीको साउन १० गते सैनिक अस्पताल छाउनीमा नियमित स्वास्थ्य परीक्षणसहित युएसजी ग्याइडेड ‘रेलन बायोप्सी’ गरिएको थियो।

रेनल बायोप्सीको रिपोर्टकै आधारमा उनी थप परीक्षण र उपचारका लागि सिंगापुर गएका थिए। रेनल बायोप्सीपछि प्रत्यारोपण गरिएको मिर्गौलाको अवस्था कस्तो छ भन्ने थाहा हुन्छ। मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको प्रत्यारोपणलगत्तै पनि यस्तो बायोप्सी गरिन्छ।

प्रधानमन्त्री ओलीले साउन १८ देखि २७ गतेसम्म सिंगापुरको नेसनल युनिभर्सिटी हस्पिटलमा उपचार गराएका थिए। त्यसपछि सोही अस्पतालमा भदौ ५ गतेदेखि १९ गतेसम्म उपचार गरिएको थियो। उनी सिंगापुरबाट भदौ २० गते स्वदेश फर्केका थिए।

प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि उनी कात्तिक १३ गते काठमाडौंको ग्रान्डी अस्पतालमा भर्ना भएका थिए। त्यहाँ उनको दुईपटक डायलासिस गरिएको थियो। त्यसको चौथो दिन महाराजगन्जस्थित शिक्षण अस्पतालमा रिपोर्ट चेकजाँच गर्न पुगेका प्रधानमन्त्री ओली अस्पताल पुगेको एक घण्टापछि निवास फर्केका थिए।

त्यसैगरी कात्तिक ३० गते ग्रान्डी अस्पतालमै तेस्रो पटक र मंसिर ८ गते चौथो पटक मिर्गौलाको डायलासिस गरिएको थियो। मिर्गौलाको डायलासिसपछि स्वस्थ देखिएका प्रधानमन्त्री ओलीलाई बुधबार बिहानदेखि पेट दुख्ने समस्या देखिएको थियो।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि दिल्लीको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। ६ वर्षअघि उनको हातमा संक्रमण भएको थियो। लामो समयको उपचारपछि निको भएको थियो। उनले दिल्ली र थाइल्यान्ड गएर उपचार गराएका थिए।

त्यसपछि उनी नियमित फलोअपमा थाइल्यान्ड जाने गरेका थिए। पछिल्लो पटक चिकित्सकको सल्लाहमा उनलाई थप उपचारका लागि सिंगापुरको सरकारी अस्पताल लगिएको थियो। नागरिक दैनिकले समाचार छापेकाे छ ।

कहिले कुन अस्पतालमा
साउन १६ : सैनिक अस्पतालमा चेकजाँच
साउन १८ देखि २७ : सिंगापुर
भदौ ५ देखि २० : सिंगापुर
कात्तिक १३ : ग्रान्डी अस्पताल
कात्तिक ३० : ग्रान्डी अस्पताल
मंसिर ८ : ग्रान्डी अस्पताल
मंसिर १० : त्रिवि शिक्षण अस्पताल

प्रतिक्रिया

सम्बन्धित समाचारहरू