बलात्कार आरोपमा ‘सिद्दबाबा’ आइसीयूबाटै पक्राउ

admin

इटहरी, १६ मंसिर : बलात्कारको आरोपमा सिद्दबाबा भनिने कृष्णराज गिरी बिराट नर्सिङ होम बिराटनगरको आइसीयूबाट पक्राउ परेका छन्। सुनसरी सताराका गिरीलाई सोमबार बिहान पाँच बजे अस्पतालबाटै पक्राउ गरिएको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले जानकार दिए। जिल्ला प्रहरी कार्यलय सुनसरीले उनीविरुद्ध बुधबार मुद्दा दायर गरेपछि शुक्रबार पक्राउ गर्न अदालतबाट अनुमति पाएको थियो।

मुद्दा दायर भएपछि प्रहरीले उनको अनुसन्धान गर्न बिहीबारदेखि नै टोली खटाएको थियो। त्यो सुइँको पाएलगत्तै उनी शुक्रबार बिहान विराट नर्सिङ होम भर्ना भएका थिए। पक्राउ गर्ने योजनासहित आइतबार बिहान प्रहरी अस्पताल पुगेपछि उनलाई आइसियुमा भर्ना गरिएको थियो। उनलाई छात्ती, मुटु, प्रोस्टेट तथा मिर्गाैलाको पत्थरीको समस्या रहेको अस्पतालले बताउँदै आएको थियो।

तर आइतबार बिहान एकाएक मुटु र छातीमा समस्या देखिएको भन्दै आइसियुमा भर्ना गरिएको अस्पतालको भनाइ छ। बलात्कारजस्तो गम्भीर मुद्दामा त्यसमाथि हाइ प्रोफाइलका मान्छे पक्राउ गर्दा सबै कानुनी प्रक्रिया पूरा गरेपछि मात्र पक्राउ गर्ने प्रहरीले योजना बनाएको थियो।

प्रहरीले शनिबार उपनिर्वाचन परेको र त्यसमा पुरै प्रहरी केन्द्रित गर्न परेकाले गर्दा सम्भव नभएपछि आइतबार पक्राउ गरेर सोझै अदालत लाने तयारी गरेको थियो। त्यो सूचना पाएपछि गिरी आइसियुमा भर्ना भएको बताइन्छ।गिरीले आफ्नै अनुयायी काठमाडौं घर भएकी एक महिलालाई कात्तिक ४ गते आश्रममा भेट्न बोलाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ।

गिरीविरुद्ध सुरुमा काठमाडौं प्रहरी परिसरमा उजुरी परेको थियो। त्यसपछि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले घटनाबारे अनुसन्धान गरेर ‘मुद्दा’ जिल्ला प्रहरी कार्यालय सुनसरीलाई जिम्मा दिएको हो।

मुद्दा दर्ता हुनासाथ गिरीलाई योजना बनाएर फसाउने खोजिएको अनुयायीहरूको जिकिर गरेका छन्। तर गिरी र आरोप लगाउने महिलाबीच भएको फोन वार्ताको रेकर्ड भनिएको अडियो सार्वजनिक भएपछि घटनाले नयाँ मोड पनि लिएको छ। गिरीले सो अडियोमा आइन्दा कुनै महिलालाई यौनहिंसा नगर्ने पनि प्रतिबद्धता जनाएको सुन्न सकिन्छ। उक्त अडियो षडयन्त्रकै एक रूप भएको र त्यसमा रहेको पुरुष आवाज गिरीको नभएको अनुयायीहरूको दाबी छ। नागरिक दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया