घुस लिएको अभियोगमा गुठी संस्थानका प्रमुख प्रशासक पक्राउ

राष्ट्रिय समाचार समिति

काठमाडौँ, १ पुस : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुठी संस्थान त्रिपुरेश्वरका प्रमुख प्रशासक नारायण चौधरी र उपप्रशासक जयप्रसाद रेग्मीलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । काठमाडौँ महानगरपालिका–१ मा रहेको जग्गासम्बन्धी गुठी संस्थानमा चलिरहेको मुद्दाको सम्बन्धमा गुठीको जग्गा गुठीमै कायम गर्नका लागि घुस लिएको पाइएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार उनीहरुलाई घुस लिएको अभियोगमा नियन्त्रणमा लिइएको हो । आयोगले प्रमुख प्रशासनक र उपप्रशासकले के कति रकम लिएको भन्ने बारेमा केही खुलाएको छैन । आरोपीद्वयको अनुसन्धान जारी रहेको आयोगको भनाइ छ । यस्तै आयोगले जिल्ला मालपोत कार्यालय धादिङका तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्री, नायब सुब्बाद्वय शम्भुनारायण राजभण्डारी र अनन्तराज सत्याल, तत्कालीन सर्वेक्षक विश्वकुमार बस्नेत र अमिन भीमप्रसाद श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सरकारी स्रेस्ता गैरकानूनी रुपमा सच्याई पदीय दुरुपयोग गरेको उनीहरुमाथि आरोप लागेको छ । आयोगले मालपोत अधिकृत खत्री, नासुद्वय राजभण्डारी र सत्याल, सर्वेक्षक बस्नेत र श्रेष्ठविरुद्ध रु नौ लाख चार हजार ५०० बराबरको बिगो कायम गरेको छ । यस्तै जग्गाधनी नानु अधिकारी र अशोक अधिकारीको हकमा पनि सोही बराबरको बिगो कायम गरिएको छ ।

आयोगले आजै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत रजिष्ट्रार तुलबहादुर श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रुपा सिङ्घाची अग्रवाल र सिनियर क्लर्कद्वय चन्द्रकुमाुर मगर र रमेशकुमार खतिवडाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बिल भरपाइसमेत नराखी प्रतिष्ठानको रकम हिनामिना गरेको उनीहरुमाथि आरोप लागेको छ । आयोगले उनीहरुविरुद्ध रु पाँच लाख ५० हजार बराबरको बिगो कायम गरी मुद्दा दायर गरेको छ ।

त्यस्तै नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सरकारी सेवामा प्रवेश गरी बढुवासमेत भएको आरोपमा नेपाल विद्युत् प्राधिकरण जनसाधन विभागमा फोरम्यानका रुपमा कार्यरत कृष्णकुमार भण्डारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्राधिकरणमा नै हेल्पर पदमा कार्यरत खेमप्रसाद रिमाल, कार्यालय सहयोगी राधाकिसन थारू, इलेक्ट्रिसियन रामनन्दन राउत यादव, जुनियर हेल्पर रामबहादुर मुक्तान र हेल्पर लालु डगौराको समेत शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

त्यस्तै जनशिशु कल्याण प्राथमिक विद्यालय जोरपोखरी तनहुँकी शिक्षिका तिलमाया गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा मुद्दा दायर गरिएको छ । आयोगका अनुसार भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्बा नारायणराज मिश्रले सेवाग्राहीको लगतकट्टा गर्ने प्रयोजनका लागि रु ४० हजार घुस लिएको अभियोगमा मुद्दा दागर गरेको छ । नायब सुब्बा मिश्रले कार्यालय सहयोगी भाइकाजी गौतमलाई दिनु भनी रु ४० हजार घुस लिएको अभियोग लागेको छ ।

प्रतिक्रिया