दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीको ‘हर दिन प्रशिक्षण’ अभियान

कृष्ण रोकाया

बाँके, ३ पुस : बाँकेमा दुर्घटनाका कारण अकालमा ज्यान गुमाउनेको सङ्ख्या बढ्दै गएपछि ट्राफिक प्रहरीले ‘हर दिन प्रशिक्षण’ अभियान शुरु गरेको छ । ट्राफिक नियमको पालन, सडकमा कसरी सुरक्षित हिँड्ने भन्नेबारेमा प्रशिक्षण दिन प्रहरीले जिल्लाव्यापी अभियान शुरु गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख पविन्द्र बमले जानकारी दिनुभयो ।

“दुर्घटना नै नहोस् भनेर सडकमा हिँड्ने यात्रु र सवारीसाधन चालकलाई लक्षित गरेर दैनिकरुपमा प्रशिक्षण दिने कार्यक्रम अघि सारेका हौँ”, प्रमुख एवं प्रहरी निरीक्षक बमले भन्नुभयो, “सवारी, मापसे चेकजाँचलाई पनि निरन्तरता दिइरहेका छौँ ।” उहाँले नगर क्षेत्रमा पनि ट्राफिक सचेतनाका लागि सडकमै प्रशिक्षण शुरु गरेको बताउनुभयो ।

“सडक यात्रु, विद्यार्थी र सवारी चालकलाई लक्षित गरी प्रशिक्षण दिन थालेका हौँ”, उहाँले भन्नुभयो, “दुर्घटना न्यूनीकरणका लागि प्रशिक्षणको शुरुआत गरेका हौँ । हामीले सडकमै बसेर चालक र सडक यात्रुलाई ट्राफिक नियम सिकाउन शुरु गरेका छौँ ।” विभिन्न ठाउँमा ट्राफिक सङ्केत पनि राखेको र त्यसलाई पालना गराउन प्रशिक्षण दिइरहेको उहाँले बताउनुभयो ।

ट्राफिक प्रहरी प्रमुख बमले दुर्घटना न्यूनीकरणका लागि यसअघि ‘रेट्रो स्टिकर’ सवारी साधनमा टाँस्ने, दुर्घटना गर्ने सवारीसाधनको पहिचानका लागि मेटिएका नम्बर प्लेट पुर्नलेखन गर्ने, मोडिफाइ गरिएका मोटरसाइकललाई दुरुस्त बनाउन लगाउनेलगायतको काम गरिसकेको जानकारी दिँदै नगर क्षेत्रको ठाउँठाउँमा सन्देशमूलक बोर्ड पनि राखिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “विद्यालय जाने क्रसिङमा विद्यालय क्षेत्र रहेको सूचनासमेत राखेका छौँ ।” सबैले नियमको पालना गरे दुर्घटनाबाट अकालमा ज्यान गुमाउनु नपर्ने उहाँले बताउनुभयो । सडक सङ्केत र विभिन्न ट्राफिक चिह्नको कारणले हुने सडक दुर्घटना न्यूनीकरण गर्न विभिन्न क्षेत्रसँग समन्वय गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले सवारी चालकलाई सडकमै घुम्ती प्रशिक्षण, यातायात व्यवसायीलाई सवारी दुर्घटनासम्बन्धी जानकारी गराई चालक तथा सवारीधनीलाई समेत जिम्मेवार गराइएको र पैदलयात्रुलाई समेत सडक प्रयोगसम्बन्धी जानकारी दिँदै आएको छ । रात्रि सेवाका बसमा दुई जना चालक अनिवार्य गर्न ट्राफिक कम्प्युनिकेशन एपको समेत प्रयोग गरिएकोे छ ।

पाँच महिनामा ३३ को मृत्यु

दुर्घटनाका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा मात्रै बाँकेमा ३३ जनाले दुर्घटनामा परी ज्यान गुमाएका छन् । चालू आवको साउनमा सात, भदौमा चार, असोजमा पाँच, कात्तिकमा छ र मङ्सिरमा सबैभन्दा बढी ११ जना दुर्घटनामा परी मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेले जनाएको छ ।

आर्थिक वर्ष २०७५÷०७६ मा दुर्घटनामा परी ६० जनाको मृत्यु भएको थियो । दुर्घटनामा चौपायाको समेत मृत्यु भएको छ । चालू आवको पाँच महिनामा १० पशु चौपायाको दुर्घटनामा परी मृत्यु भएको छ । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा जिल्लामा दुर्घटनाका ८६ घटना भएका छन् । जसमा ७३ गम्भीर र ६१ जना सामान्य घाइते भएका थिए ।

जिल्लामा सबैभन्दा बढी दुर्घटना मोटरसाइकलको भएको प्रहरीको तथ्याङ्क रहेको छ । पाँच महिनाको अवधिमा ६६ वटा मोटरसाइकल दुर्घटनामा परेका थिए । उक्त अवधिमा १११ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । छ वटा ट्रक, एउटा टिपर, ११ जीप, दुई ट्र्याक्टर, चार वटा टेम्पो र छ वटा साइकल दुर्घटनामा परेको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क छ ।

कार्यालयको तथ्याङ्कअनुसार धेरैजसो दुर्घटना तीव्र गति र चालकको लापरवाहीले हुने गरेको जिल्ला ट्राफिक कार्यालय बाँकेको तथ्याङ्कले देखाएको छ । आव २०७५÷०७६ मा बाँकेमा ९९ दुर्घटना भएका छन् । कार्यालयका अनुसार, गत आवमा दुर्घटना विश्लेषण गर्दा प्रमुख कारण तीव्र गति, चालकको लापरवाही रहेको पाइएको थियो ।

आव २०७५÷०७६ मा तीव्र गतिका कारण ३९, चालकको लापरवाहीका कारण ३९ दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । गत आवमा ओभरटेकका कारण सात, मापसेका कारण पाँच, यान्त्रिक कारणले दुई, सडकको कारणले तीन र चौपायाको कारणले तीन वटा दुर्घटना भएको ट्राफिक प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बाँकेमा गत आवमा भएका दुर्घटनामा ६० ले ज्यान गुमाएका थिए भने ७५ जना गम्भीर घाइते भएका थिए । जसमा ४२ पुरुष, १४ महिला र चार बालक रहेका छन् ।
धम्बोझीमा आकाशे पुल

नेपालगञ्जमा सवारी साधनको चाप बढेसँगै आकाशे पुल निर्माण शुरु हुने भएको छ । यस वर्ष धम्बोझी चोकमा पहिलो आकाशे पुल बनाउन उपमहानगरपालिकाले औपचारिक प्रक्रिया शुरु गरिसकेको छ । “छ महिनाभित्रै निर्माण सक्ने गरी काम अघि बढेको छ”, उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले भन्नुभयो ।

उहाँले बोलपत्र आह्वान भइसकेको र त्यसलगत्तै ठेक्का सम्झौता गरेर काम अघि बढ्ने बताउनुभयो । “यसपालि धम्बोझी चोकमा आकाशे पुल निर्माण गरिँदैछ”, नगर प्रमुख डा राणाले भन्नुभयो, “आवश्यकताका आधारमा थप योजना बनाउँदै जान्छौँ ।” उपमहानगरपालिकाले आकाशे पुलका लागि रु एक करोड ६५ लाख २१४ बजेट विनियोजन गरेको छ । रासस

प्रतिक्रिया