डोल्पा, ३ पुस: हिमाली जिल्ला डोल्पामा तीन दिनदेखि टेलिफोन सेवा ठप्प भएको छ । गत मङ्गलबार दिउँसोदेखि गएको मोबाइल टावर अझैसम्म नआएपछि सिङ्गो डोल्पा जिल्ला नै तीन दिनदेखि टेलिफोन सेवाविहीन भएको हो ।सदरमुकाम दुनै, जुफाल, खदाङलगायतका जिल्लाका विभिन्न क्षेत्रमा राखिएको टेलिफोन टावरबाट फोन सेवा सञ्चालन नभएकाले फोन तथा इन्टरनेट सेवा ठप्प भएको छ । “मङ्गलबार दिउँसोबाट मोबाइल टावर गएको हो, अझै आएको छैन, दुर्गमलाई सुगमसँग जोड्न टेलिफोन सेवा नै नभएपछि नागरिकहरु समस्यामा परेका छन्”, त्रिपुरासुन्दरी नगरपालिका–१ का दुर्गाप्रसाद देवकोटाले भन्नुभयो ।
मङ्गलबारदेखि डोल्पामा लेन्डलाइन टेलिफोन, नमस्ते र स्काइको मोबाइल सेवा, ए.डि.एस.एल इन्टरनेट सेवालगायत कुनै पनि सञ्चार सेवा छैन । अवरुद्ध टावर सञ्चालन गर्नका लागि डोल्पाका विभिन्न ठाउँमा राखिएको टावरमा पुगेर जाँच गर्ने काम भइरहेको दूरसञ्चार कार्यालय डोल्पाका प्रमुख दयाविक्रम केसीले जानकारी दिनुभयो ।
जुम्ला–डोल्पा र जुम्ला–कालिकोट जिल्लाका सीमावर्ती क्षेत्रमा राखिएका माइक्रोवेभ टावरमा समस्या आएको हुनसक्ने नेपाल टेलिकम क्षेत्रीय कार्यालय नेपालगञ्जले जनाएको छ । तीन दिनदेखि कुनै पनि सञ्चार सुविधा नभएपछि डोल्पाली नागरिकको दैनिकी कष्टकर बनेको छ । दुर्गममा लामो समयसम्म टावर नहुँदा एक ठाउँबाट अर्को ठाउँमा सम्पर्क गर्न ठूलो समस्या भएको सिरहा जिल्लाबाट डोल्पा अध्यापन गर्न आउनुभएका शिक्षक रामनाथ यादवले बताउनुभयो ।
सुविधाका नाममा रहेको मोबाइल सेवासमेत ठप्प भएपछि घरमा रहेका आफन्तहरुसँग समेत कुरा गर्न समस्या भएको उहाँको भनाइ छ । मोबाइल सेवासँगै इन्टरनेट सुविधासमेत बन्द भएपछि विभिन्न स्थानीय तह र सदरमुकाम दुनैस्थित सरकारी तथा गैरसरकारी कार्यलयको काम काजसमेत ठप्प भएको छ ।डोल्पामा भरपर्दो टेलिफोन सेवा नहुँदा एक महिनामा मात्रै दुई–तीन पटकसम्म मोबाइल सेवा ठप्प हुने गरेको छ । पटक–पटक अवरुद्ध भइरहने मोबाइल सेवालाई नियमित बनाउन सेवा प्रदायक कम्पनीलाई डोल्पालीले आग्रह गरेका छन् ।