चिसोबाट जोगाउन टीकापुरमा आगो ताप्ने व्यवस्था

राष्ट्रिय समाचार समिति

धनगढी, ५ पुस : केही दिनदेखि चलेको शीतलहरसँगै बढेको चिसोका कारण जनजीवन कष्टकर बनेपछि कैलालीको टीकापुर नगर क्षेत्रमा प्रहरीको पहलमा आजबाट आगो ताप्ने व्यवस्था गरिएको छ । स्थानीय सामुदायिक वनसँग गरिएको समन्वयपछि निःशुल्क रुपमा दाउरा उपलब्ध भई नगर क्षेत्रका १६ ठाउँमा आगो ताप्ने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले बताउनुभयो ।

नगरका बासिन्दालाई चिसोबाट बचाउने अभियानस्वरुप आगो ताप्ने व्यवस्था गरिएको भट्टले बताउनुभयो । यसैबीच नगर क्षेत्रका विद्यालय आसपासका मदिरा पसल तथा होटेलबाट ९५० लिटर अवैध घरेलु मदिरा जफत गरी आजै नष्ट गरिएको छ । बढ्दो लागुऔषधको सेवन ओसारपसार सामाजिक चुनौतीको रुपमा देखिन थालेपछि यस्ता विकृति न्यूनीकरण गर्नका लागि प्रहरीले टीकापुर क्षेत्रमा हरेक दिन ‘विद्यालयमा एक घण्टे कार्यक्रम’ अभियान पनि थालेको छ ।

विद्यालयका छात्रछात्रालाई लागुऔषधको प्रयोगले मानिसको स्वास्थ्य र समाजमा पार्ने असर, बाल विवाह गर्दा हुने असर लगायतका विषयमा प्रहरी अधिकृतले चेतनामूलक प्रशिक्षण दिने गरिएको बताइएको छ ।

प्रतिक्रिया