भ्रमण वर्षलाई लक्षित गदै सम्पदा क्षेत्रमा पैदलयात्रासहित सफाइ गरिने

मनिषा थापा

काठमाडौँ : नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन उपत्यकाका सम्पदास्थलमा पैदल यात्रासहित सफाइ अभियान चलाइने भएको छ । ‘बेटर नेपाल’ नामक सामाजिक संस्थाको संयोजनमा पुस १२ गते शनिबारदेखि सम्पदा पैदलयात्रा एवं सफाइ अभियान शुरु गर्न लागिएको हो । 

अभियानमा राजनीतिक दलका शीर्ष नेता, पर्यटन व्यवसायी, खेलाडी, कलाकारलगायत अभियानकर्मी सहभागी हुने ‘वेटर नेपाल’ का अध्यक्ष माला खरेलले राससलाई जानकारी दिनुभयो । पुस १२ गते शनिबारदेखि चार हप्तासम्म अर्थात् माघ ४ गतेसम्म यो अभियान चलाइनेछ । पुस १२ गते शनिबार पशुपतिबाट वसन्तपुरसम्म पैदलयात्रासहित सफाइ गरिनेछ ।

 कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, कीर्तिमानी धावक वैकुण्ठ मानन्धरलगायत सहभागी हुनुहुनेछ । कीर्तिमानी धावक मानन्धर उपत्यकाका सबै स्थानमा हुने पैदलयात्रामा सहभागी हुनुहुनेछ । 

 पुस १९ गते शनिबार माइतीघर मण्डलाबाट स्वयम्भूसम्म सम्पदा यात्रासहित सफाइ गरिनेछ । मण्डलाबाट शुरु हुने पदयात्रासहितको सफाइ कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता एवं सांसद गगनकुमार थापालगायत सहभागी हुनुहुने जनाइएको छ । पुस २६ गते ललितपुर जिल्लाका सम्पदामा पैदलयात्रासहित सफाइ गरिनेछ । यो कार्यक्रममा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको नेतृत्वमा यात्रासहित सफाइ गरिनेछ ।

 माघ ४ गते शनिबार भक्तपुर जिल्लाका सम्पदामा पैदलयात्रासहित सफाइ अभियान चलाइनेछ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहित अभियानकर्मीको सहभागिता रहने जनाइएको छ । हालसम्म चारवटै सम्पदा पदयात्रा एवं सफाइ अभियानमा सहभागी हुन २५ वटा संस्थाले नाम लेखाएको अध्यक्ष खरेलले बताउनुभयो ।

 भ्रमण वर्षको शुरुआतमा सम्पदा क्षेत्रमा सफाइ गरी चिटिक्क देखाउन अभियानकर्मीसहित नागरिकस्तरबाट यो कार्यक्रम आयोजना गर्न लागिएको हो । कार्यक्रममा सहभागी हुन स्थानीय तहका जनप्रतिनिधि, पर्यटन व्यवसायी, स्थानीयवासी लगायतलाई सार्वजनिकरुपमा आह्वान गरिएको जनाइएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ । यस वर्ष २० लाखभन्दा बढी बाह्य पर्यटक भित्र्याउने लक्ष्य छ । लक्ष्य पूरा गर्न नागरिकस्तरबाट यस्ता अभियान गरिनु आवश्यक रहेको अभियानकर्मीले जनाएका छन् । 

प्रतिक्रिया