सर्लाहीमा जलेर एक महिलाको मृत्यु र एक घाइते

राष्ट्रिय समाचार समिति

सर्लाही, १० पुस : चिसोबाट बच्नका लागि बालिएको आगोले जलेर सर्लाहीमा एक महिलाको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् । बरहथवा नगरपालिका–१७ निवासी रामचन्द्र साहकी ४० वर्षीया श्रीमती राजमतीदेवी साहको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

चिसोबाट बच्न आफ्नै घरको आँगनमा बालेको आगो ताप्ने क्रममा बुधबार साँझ अचानक आगो लाग्दा उनी पुरै शरीर जलेर गम्भीर घाइते भएकी थिइन् । गम्भीर घाइते साहको उपचारका क्रममा गएराति जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै चिसोबाट बच्न घर अगाडि बालेको आगो ताप्ने क्रममा साडीमा आगो लाग्दा विष्णु गाउँपालिका–१ बेल्वामा एक महिला गम्भीर घाइते भएकी छन् । गएराति ९ बजेको समयमा आगो लाग्दा राजन पासवानकी श्रीमती २५ वर्षीया सरस्वती पासवान गम्भीर घाइते भएकी हुन् । आगोबाट पासवानको घुँडादेखि पेटसम्म जलेको छ । उनको उपचार अहिले जिल्ला अस्पताल मलङ्गवामा भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जानकारी दिनुभयो ।

प्रतिक्रिया