सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक समाज र सरकारबीच समन्वय हुनुपर्ने : सुवेदी

admin

पोखरा, ११ पुष : सुर्तीजन्य पदार्थले गर्दा मानिसहरु लाखौं रुपैंया खर्च हुने र अकालमै मृत्यु हुने हुँदा, सुर्तीजन्य पदार्थ रोकथामको लागि नागरिक समाज र स्थानिय निकायबीच सहकार्य हुनुपर्ने कुरा पोखरा महानगरपालिकाका निमित्त कार्यकारी प्रमुख गंगालाल सुवेदीले बताएका छन् ।

क्यान्सर काउन्सिल नेपालको आयोजना र नेपाल टेलिकमको सहकार्यमा पोखरा महानगरपालिकामा सम्पन्न अन्तरक्रिया तथा जनचेतना कार्याक्रममा निमित्त कार्यकारी प्रमुख सुवेदीले कार्यक्रममा सहभागी स्वास्थ्य स्वयंसेविका तथा स्वास्थ्यकर्मीहरुलाई सुर्तीजन्य पदार्थबाट मानिसहरुलाई जोगाउनको लागि सचेत गराउनुपर्ने कुरा राखे ।  उनले नेपाल टेलिकमले सुर्तीजन्य पदार्थ रोकथामको लागि क्यान्सर काउन्सिल नेपालसँगको सहकार्यलाई प्रशंसा गरे ।


वीर अस्पतालका क्यान्सर रोग विशेषज्ञ प्रा.डा. विष्णुदत्त पौडेलले सुर्तीजन्य पदार्थ नै सम्पूर्ण रोगहरुको प्रमुख कारण भएकोले यसका लागि रोकथामको लागि जोड दिनुपर्ने धारणा राखे । उनले फ्रान्समा सन् २०१७ मा दश लाख मानिसहरु सुर्तीजन्य पदार्थ त्यागेको उदाहरण दिँदै कम्तीमा एक जना सहभागीले एक जनालाई सुर्तीजन्य पदार्थ सेवनबाट जोगाउन सकेमा ठूलो उपलब्धी हुने कुरा राखे ।

उनकाअनुसार सुर्तीजन्य पदार्थबाट मानिसलाई जोगाउनको लागि परिवारको ठूलो भूमिका हुने प्रष्ट पारे । उनले क्यान्सर रोगको कारण, लक्षण र रोकथामको उपायहरुको बारेमा जानकारी दिँदै शुरुको अवस्थामा क्यान्सर रोग पहिचान गर्न सकेमा निको हुने जानकारी गराए । क्यान्सर रोगबाट बच्नको लागि हामीले विशेष सावधानी अपनाउनुपर्ने कुरा उनले प्रष्ट पारे ।

क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले संस्थाले देशव्यापी रुपमा सुर्तीजन्य पदार्थ रोकथामको लागि अभियान संचालन गरेको बताए ।  विकसित देशमा जनचेतनाको कारण मानिसहरु सुर्तीजन्य पदार्थबाट टाढै रहने कुरा उल्लेख गरे । कडरियाका अनुसार साथीभाईको नकारात्मक प्रभाव र पर्याप्त जनचेतनाका अभावले गर्दा किशोर किशोरीहरु सुर्तीजन्य पदार्थबाट प्रभावित भएको र कालान्तारमा उनीहरुले लागु पदार्थको सेवन गर्ने गरेको देखिन्छ ।

‘यसले गर्दा समाजमा उनीहरु आपराधिक क्रियाकलापमा सहभागी हुने अध्ययनले देखाउँछ ।’–उनले थपे । कार्यक्रममा नेपाल टेलिकमका प्रतिनिधी महेन्द्र प्रसाद रिमालले नेपाल टेलिकमले दुरसंचारको क्षेत्रमा व्यापार व्यावसायको साथै सामाजिक काममा गर्दै आएको र आगामी दिनमा पनि सुर्तीजन्य पदार्थ विरुद्धको अभियानमा सहकार्य गर्ने प्रतिवद्धता जनाए ।

प्रतिक्रिया