बहुमतको निर्णयप्रति पौडेलको आपत्ति, कांग्रेसमा टुट्दै संवाद

admin

काठमाडौं, १३ पुस : कांग्रेस केन्द्रीय कार्यसमिति बैठकका निर्णयप्रति असन्तुष्ट पक्षले आपत्ति जनाएको छ। बहुमतका नाममा एकलौटी ढंगले अगाडि बढ्न खोजेकाले अब नेतृत्वसँग संवाद नगर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन्। ‘हाम्रा कुरा स्पष्टसँग राखेका छौं। हामी सभापतिज्यूसँग कुरा गर्न जाँदैनौं।

देशभरका नेताकार्यकर्तासँग संवादमा छौं’, पौडेलले भने, ‘हामी कम्युनिस्ट सरकारलाई धेरै मत ल्यायौं भन्दैमा संवैधानिक निकायमा मनपरी कहाँ गर्न पाइन्छ भनेर शेरबहादुर देउवाजीकै नेतृत्वमा सरकारलाई खबरदारी गरिरहेका छौं। तर, यहाँ बहुमत छ भन्दैमा एकलौटी निर्णय कसरी भइरहेका छन् ? प्रश्न उठेका छन्।’

वरिष्ठ नेता पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले बहिष्कार गरे पनि बिहीबार सभापति देउवाले अर्काे वर्ष फागुनमा महाधिवेशन गर्ने गरी कार्यतालिका सार्वजनिकलगायत विभिन्न निर्णय गराएका थिए। त्यसपछि सामूहिक धारणा तय गर्न शुक्रबार संस्थापनइतरको बैठक महामन्त्री डा. शशांक कोइराला निवास महाराजगन्जमा बसेको थियो। केन्द्रीय कार्यसमितिको निर्णय गलत भएको निष्कर्ष निकाल्दै बैठकले मुलुकभरका पार्टी नेता÷कार्यकर्तासँग संवाद गर्ने निर्णय गरेको हो।

‘निर्णयहरू गलत मनसायमा भएका छन्, सच्याइनुपर्छ। पार्टीलाई निष्पक्षता, पारदर्शी र न्यायका आधारमा सञ्चालन गरेर लैजानुपर्छ’, बैठकपछि पौडेलले भने, ‘हिजोका निर्णय विधान र सहमतिको भावनाविपरीत छन्। प्रजातान्त्रिक मर्मविपरीत छन् र पार्टी परम्पराविपरीत छन्।’ भ्रातृसंस्था गठन र विभाग बढाउने कुरा पनि विधानअनुसारै हुनुपर्नेमा उनले जोड दिए। उनले महामन्त्री डा. कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई छेउमा राखेर पत्रकारसँग असाधारण अवस्थामा मात्र पार्टीको कार्यकाल एक वर्ष थप्ने प्रावधान रहेको सुनाए। सभापति देउवाले भने पार्टीलाई संकटमा धकेल्ने गरी अर्काे वर्ष फागुनमा महाधिवेशनको मिति तोकेको आरोप उनले लगाए।

‘पार्टी धरापमा पार्ने निर्णय भएको छ। २०७७ मंसिरमा वडा तहको अधिवेशन गरेर फागुनमा केन्द्रीय अधिवेशन गर्ने कुरा छ। त्यसअघि लामो समय के गर्ने ? ’ उनले भने, ‘यही फागुनमा कार्यकाल सकिँदै छ। कुनै कारणले तोकिएको समयमा महाधिवेशन भएन भने पार्टीको भविष्य के हुन्छ ? ’ सरकारले विपक्षीसँग छलफलपछि मात्र सहमतिमा आमनिर्वाचनको मिति सार्वजनिक गर्ने गरेको उनले उल्लेख गरे। सभापति देउवाले भने पार्टीभित्र केही मान्छेसँग बसेर महाधिवेशन कार्यतालिका सार्वजनिक गरेको टिप्पणी उनले गरे। आफूहरू सहमतिमै पार्टी सञ्चालन गर्नुपर्ने पक्षमा रहँदारहँदै पनि सभापतिले सहमतिविपरीत बहुमतबाट पार्टी विधानका महत्त्वपूर्ण धाराहरू निलम्बन गरेको बताए।

महामन्त्री डा. कोइरालाले पनि सभापतिले एकल निर्णय गरेर पार्टीलाई धराशायी बनाएको आरोप लगाए। ‘मैले सभापतिज्यू र वरिष्ठ नेता रामचन्द्र दाइलाई सधैं भन्दै आएको छु– तपाईंहरू एकढिक्का हुनुस्, नत्र पार्टी धराशायी हुन्छ’, उनले भने, ‘पार्टी एक हुनुपर्छ भन्दै गर्दा सभापतिले एकल निर्णय गर्नुभयो। ठीक भएन। यसले पार्टीलाई धराशायी बनाएको छ।’ एकताका लागि पार्टी सभापतिले नै पहल गर्नुपर्नेमा उनले जोड दिए।

पूर्वमहामन्त्री एवं पौडेल समूहद्वारा गठित वार्ता समिति संयोजक सिंहले सहमतिका लागि सकारात्मक प्रयास भइरहेका बेला सभापति देउवाले एकलौटी निर्णय गरेर गैरलोकतान्त्रिक काम गरेको आरोप लगाए। ‘सहमतिको नजिक–नजिक पुगिसकेका थियौं। त्यसलाई अन्तिम रूप दिन बाँकी थियो। पार्टी सभापतिसँग पनि कुरा भएको थियो, उहाँबाट पनि सकारात्मक आश्वासन आएको थियो’, उनले भने, ‘तर, वार्ता निष्कर्षमा नपुगी एकलौटी ढंगबाट भएको निर्णय पार्टीको परम्परा, संस्थागत निर्णयविपरीत र गैरलोकतान्त्रिक भएको छ। यसको विरोध गर्छाैं।

पार्टीलाई सच्याउन र सही दिशामा ल्याउन लाग्छौं।’ समय हुँदा काम नगर्ने तर अन्तिममा आएर दबाबमा काम गर्न खोज्ने नेतृत्वको कार्यशैलीकै कारण आफूहरुले १४ औं महाधिवेशन समयमै गर्ने गरी प्रस्तावकै रूपमा केन्द्रीय कार्यसमितिमा पेस गर्न माग गरेको उनले जनाए।

असन्तुष्ट समूहको बैठकमा नेता सिटौला भने अनुपस्थित थिए। उनी काठमाडौंबाहिर रहेको जनाइएको छ। बैठकमा सहभागी नेताले पार्टी नेतृत्व बहुमतबाट अगाडि बढ्न खोजेकाले कडा रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिएका थिए। उनीहरूले वार्ता समितिको प्रारम्भै गलत तरिकाले भएको बताएका थिए।

‘विधानअनुसार पार्टीमा भ्रातृसंस्थाबारे छलफल हुनुपथ्र्याे तर लेनदेनका आधारमा गर्न खोज्दा संस्थापन पक्षले धेरै राख्ने कुरा स्वाभाविकै हो’, केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, ‘त्यसकारण विधानलाई बटमलाइन बनाउनुपर्छ। सहमतिका नाममा विधानलाई बेवास्ता गर्ने कुरा उचित हुँदैन।’ अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया