पुस २१ गते प्रदेश तीनको राजधानी र नाम आउने

admin

हेटौंडा, पुस १४: प्रदेश तीनको राजधानी तथा नामकरणको लागि नेकपा केन्द्रीय सचिवालयले निर्णय गरेको भोलिपल्टै प्रदेश तीन सरकारको बैठक बसेको छ। पुस २१ गते हिउँदे अधिवेशन आह्वान गर्ने वैठकले निर्णय गरेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री एवं सरकारका प्रवक्ता कैलाशप्रसाद ढुंगेलले जानकारी दिए।

आज सोमबार बसेको बैठकले एकमात्र निर्णय गर्दै वैठक आव्हान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने भएको हो। राजधानी र नामाकरण टुंगिने प्रदेशसभाका लागि सरकारले कुनै पनि विजनेश दिन नसकेकोले अब बस्ने पाँचौ अधिवेशनमा राजधानी र नामाकरणको विषय प्राथमिकता साथ सुरुमा आउने देखिन्छ। केन्द्रीय निर्देशन कुरिरहेको प्रदेश सरकारको मन्त्रिपरिषद्लाई नेकपा केन्द्रीय सचिवालयले निर्णय गरेलगत्तै वैठक आह्वान गर्न सजिलो भएको हो।

यस अघि भदौ २५ गते वर्षे अधिवेशन टुंग्याएपछि लामो समयसम्म वैठक आह्वान नगरेकोले ध्यानाकर्षण सांसदहरूले गराएका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, विवेकशील साझा, नेमकिपा तथा सत्ता पक्षकै अधिकांश प्रदेश सभा सदस्यहरूले ध्यानाकर्षण गराएका थिए। सांसदहरूले सामाजिक सञ्जाल, औपचारिक कार्यक्रममा समेत प्रदेश सभाको वैठक राख्न नसकेको भन्दै सरकारको आलोचना गरेका थिए।

चार वटा अधिवेशनमा प्रदेशसभामा १२७ वटा बैठक बसेको छ। प्रदेशसभाले हालसम्म ४५ वटा विधेयक पास गरिसकेको छ भने ४४ वटा प्रमाणिकरण भइसकेको प्रदेशसभा सचिव रामशरण घिमिरेले जानकारी दिए। यस्तै प्रदेशसभा नियमावली पनि संशोधन भइसकेको छ।

प्रतिक्रिया