नेपाली राजनीतिमा प्रचण्ड अत्यन्तै कमजोर : डा. सुरेन्द्र केसी

मनिषा थापा

काठमाडौं : राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसीले नेपाली राजनीतिमा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अत्यन्तै कमजोर भएको बताएका छन् ।

मंगलबार राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण भएको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै केसीले यस्तो बताएका हुन् । उनले भने, ‘प्रचण्डले त अहिले केपी ओलीको पनि सेकेण्ड म्यान भएर पोलिटिक्स गर्नु भनेको त अकल्पनीय हो नि त । र, उहाँले यो सम्म भन्नुभएको छ की प्रधानमन्त्रीको पूर्ण अवधि नै केपी ओली हो भन्नुभएको छ ।’


प्रचण्डको बोलीमा विश्वसनियता नभएको भनेर आम जनताले नै तर्क गर्न थालेको उनको भनाई छ । प्रचण्डजस्तो क्रान्तिकारी नेताले यसरी सम्झौता गर्नु आफैंमा रहस्यमयी रहेको उनको टिप्पणी छ । उनले भने,‘मैले त उहाँको बारेमा हठात, अपारदर्शी र रहस्यपूणृ भनेको छु ।”

उनले नयाँ वर्ष २०२० चूनौति हुने बताउँदै यसले कुन कुन बाटो र अवस्था लिन्छ त्यो भने हेर्न बाँकी रहेको सुनाए । सन् २०१९ मा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प विवादमा परेको र चीनपनि हङकङलाई लिएर बढि नै विवादित भएकोपनि उनले तर्क गरे ।केसीले हङकङकमा लोकतान्त्रिक मूल्य र मान्यतासहितको चुनाव नभएको जिकिर गरे ।

रसिया विश्वमै उदयीमान शक्तिको रुपमा आईरहेको सुनाउँदै रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन नेपाल आउने भन्नेपनि रहेको उनले जानकारी दिए । भारतमा बिजेपीको प्रारम्भिक रुझान झारखण्डमा पराजय भोगेको पनि उनले सुनाए ।

केसीले भने,‘त्यही खालको स्थिति अहिले नेपालमा पनि देखिँदैछ । अहिले जो दुई तिहाई बहुमतको सरकार वाम हो, त्योप्रति पनि नकारात्मक रुझान धरानको उपमहानगरपालिकाको चुनावमा देखियो ।’ केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारीलाई कारबाही गर्न नसकेको टिप्पणी गरे । २०१९ नेपाल र नेपालीहरुको लागि फलदायी नभएको उनको गुनासो छ ।

प्रतिक्रिया