चुलियो सुनको भाउ

admin

काठमाडौं, १३ फागुन : सुनको भाउ सोमबार प्रतितोला ८० हजार ३ सय रुपैयाँ पुगेको छ। यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो। २०७५ मंसिर १६ मा तोलाको ५७ हजार २ सय थियो।

एक वर्षमै पहेंलो धातुको मूल्य २३ हजार १ सय रुपैयाँ अर्थात् ४०.३८ प्रतिशत बढेको छ। भाउ बढ्ने क्रम तीव्र छ। फागुन लागेपछि तोलामा ४ हजार ६ सय महँगियो। कात्तिक २२ पछिको साढे ३ महिनाको मूल्य हेर्ने हो भने तोलामा १० हजार ४ सय बढेको छ। सामान्यतया सुनको भाउ यसरी बढ्दैन। अहिले छिमेकी मुलुक चीनबाट सुरु भएको घातक भाइरस ‘कोरोना’ संक्रमणका कारण सुनको मूल्य चुलिएको हो। संक्रमण नियन्त्रण हुन नसकेपछि सुनको भाउ अझै बढ्न सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विवाह र सामाजिक पर्वको मौसममै सुनको भाउ यसरी चुलिँदा नेपाली ग्राहक मर्कामा परेका छन्। ‘हिउँदमा सुनको भाउ बढेपछि अत्यावश्यकबाहेक धेरैले त किन्दैनन्,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष तेजरत्न शाक्य भन्छन्, ‘किन्नैपर्नेलाई बढी पैसा खर्चनुपरेको छ।’ अहिले सुनको व्यापार करिब ७० प्रतिशत घटेको व्यवसायीले बताएका छन्।

नेपालमा काँचो सुनमा लगानी गर्ने कानुन छैन। अधिकांश विकसित मुलुकमा सुनमा लगानी गरेर नाफा कमाउन पाइन्छ। ती मुलुकमा लगानीकर्ताले सुन किन्न थालेका छन्। विश्वमा ५० प्रतिशत सुनमात्रै गहनामा प्रयोग हुन्छ। कोरोना संक्रमणका कारण चीनसँगै सिंगो विश्व अर्थतन्त्र शिथिल हुँदै छ। कैयन् ठूला उद्योग बन्द भएका छन्। संसारकै सबैभन्दा ठूलो वस्तु निर्यातक मुलुक चीन सुनसान भएको छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया