भन्सार शुल्क शून्य

राष्ट्रिय समाचार समिति

रसुवा, १३ फागुन :कोरोना भाइरसका कारण रसुवागढी नाकाबाट सवारीसाधन आवतजावत बन्द भएपछि भन्सार राजश्व असुलीमा शून्यता छाएको छ ।रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार केरुङबाट सामान आयात बन्द भएपछि यही फागुन १ गतेबाट भन्सार राजश्व असुलीमा शून्यता आएको हो ।

रसुवागढी नाकाबाट गत माघ १५ गतेभित्र सामान बोकी नेपाल भित्रिएका सबै मालवाहक ट्रक तथा कन्टेनरको परीक्षण तथा भन्सार शुल्क असुल गर्ने काम गत माघ महिनामै सम्पन्न भइसकेको बताउँदै उहाँले हाल भन्सार हाता पूर्ण रुपमा खाली रहेको जानकारी दिनुभयो । रसुवागढी, केरुङ क्षेत्रमा सवारीसाधन र मानिससमेत आवतजावत बन्द भएपछि सरदर दैनिक रु तीन करोड भन्सार शुल्क असुलीमा शून्यता छाएको भन्सार कार्यालयले जनाएको छ ।

मितेरी पुलबाट केरुङको आवतजावत बन्द भएपछि टिमुरे तथा स्याफ्रुबेँसीको व्यापारसमेत बन्दी भइरहेको र फाटफुट रूपमा स्थानीय व्यापार भए पनि दिनभरको व्यापारले पसल सञ्चालन गरेका घरको भाडा तिर्नसमेत मुस्किल पर्दै गएको व्यापारी बताउँछन् ।

दैनिक दुई तीन सय सवारीसाधन गुड्ने त्रिशूली, धुञ्चे, रसुवागढी राजमार्ग क्षेत्रमा पछिल्लो समय दुई, चार वटा नियमित यात्रुबाहक बस तथा नगन्य मात्रमा हल्का सवारीसाधन गुड्ने गरेको ट्राफिक प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनले समयमै पूर्वसावधानी अपनाई सीमावर्ती क्षेत्र रसुवागढी केरुङको आवतजावत बन्द गराएका कारण निर्धक्क साथ बस्न सहज भएको स्थानीय बासिन्दाले जनाएका छन् । रसुवा जिल्लामा हालसम्म कोरोना भाइरसको कुनै पनि लक्षण देखा नपरेको स्वास्थ्यकर्मीले बताएका छन् ।

प्रतिक्रिया