रेल असारभित्रै सञ्चालनमा ल्याइने

admin

काठमाडौं, फागुन १४ : सरकारले चालू आर्थिक वर्षभित्रै धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म रेल सञ्चालन गर्ने तयारी गरिरहेको छ । रेल निर्माणको काम सकिएर डब्बा नेपाल ल्याउने संघारमा रहे पनि जनशक्ति अभाव हुँदा रेल सञ्चालन प्रक्रिया लम्बिएको हो । रेल विभागले चैत वा वैशाखमा नै रेल ल्याउन सकिने र कुनै कारणले रोकिए पनि असारभित्र सञ्चालन भइसक्ने जनाएको छ ।

जनशक्ति अभाव भएकाले यसअघिको घोषणाअनुसार रेल ल्याउन केही ढिलाइ भएको भन्दै विभागले फेब्रुअरीमा पहिलो र मार्चमा दोस्रो रेल ल्याउने गरी सम्झौता भए पनि जनशक्ति व्यावस्थापनमा समय लागेकोले ढिलो भएको जनाएको छ । रेल विभागका महानिर्देशक वलराम मिश्र भन्छन्, ‘हामीले समयमानै रेल सञ्चालनको लागि तयारी पूरा गरेका हौं, तर जनशक्ति अभाव र आन्तरिक प्रक्रिया पूरा गर्दा ढिलो हुने देखिएको छ ।’

गत शुक्रबारमात्र रेल विभागले विभिन्न ९ पदका लागि २६ जनशक्ति माग गर्दै सूचना जारी गरेको छ । माग गरेको समयभित्र पनि नेपालीबाट दरखास्त नआए विभागले विदेशी कर्मचारीको लागि पनि सूचना जारी गर्ने जनाएको छ । हाल करिब २ सय जनशक्तिको अभाव भए पनि पहिलो चरणमा विभागले २६ जनाको मात्रै माग गरिएको जानकारी दिएको छ । बाँकी कानुनी प्रक्रिया पूरा गरेर माग गर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया