एउटै गाउँमा चार सय धारा बन्दै

राष्ट्रिय समाचार समिति

मान्म, १६ फागुन : कालीकोट नरहरिनाथ गाउँपालिका–९ को लालुमा खानेपानी समस्या हल गर्न ३८२ धारा निर्माण गरिने भएका छन् । गाउँपालिका र हेल्भेटास नेपालको सहयोग तथा हुरुन्डेक नेपालको सहजीकरणमा खानेपानीका धारा निर्माण गरिने भएका हुन् ।

खानेपानी समस्या झेलिरहेका वनघर, भाटगाउँ, गानेचौर र ठाँटीकोट टोलमा धारा निर्माण गर्ने गाउँपालिका, हेल्भेटास नेपाल र हुरुन्डेक नेपालबीच सहमति भएको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताउनुभयो । “साझेदारीमा खानेपानीका धारा निर्माण गर्ने सहमति भएको छ”, उहाँले भन्नुभयो, “वर्षौंदेखि खानेपानीको समस्या झेलिरहेका यी टोलमा यसै आर्थिक वर्षमा खानेपानी पुग्नेछ ।”

खानेपानीका लागि रु दुई करोड ४० लाख रकम लाग्ने र त्यसका लागि रु एक करोड गाउँपालिका, रु एक करोड हेल्भेटास नेपालले खर्च गर्ने र रु ४० लाख बराबरको स्थानीयले श्रमदान गर्ने उहाँले जानकारी दिनुभयो । उक्त टोलका घरघरमा स्वच्छ खानेपानीका धारा पु¥याउने गाउँपालिकाको लक्ष्यअनुसार काम अगाडि बढाइएको अध्यक्ष बिष्टले बताउनुभयो ।

पचालझरनासम्म पदमार्ग निर्माण
सय पर्यटकीय गतव्यमा सूचीकृत भएको कालीकोटको पचालझरना गाउँपालिका–१ खार्दुमा रहेको पचालझरना पुग्ने पदमार्गको निर्माण गरिएको छ । पर्यटकलाई झरनासम्म पुग्नका लागि सहज होस् भनेर पदमार्गको निर्माण गरिएको हो । नेपालको सबैभन्दा अग्लो झरना भनेर दाबी गरिएको सो झरनाको लम्बाइ ३८१ मिटर रहेको छ ।

झरनासम्म पुग्न पर्यटकलाई सहज होस् भनेर रेलिङसहितको पदमार्ग निर्माण गरिएको वडाध्यक्ष लोकजङ्ग कठायतले जानकारी दिनुभयो । “तीन सय मिटर लामो रेलिङ पुगेल्नीमाई पचालझरनासम्म पदमार्गको निर्माण गरिएको छ”, उहाँले भन्नुभयो, “यसका लागि रु २५ लाख बजेट लागेको छ ।” पर्यटकको सहजताका लागि झरना नजिक रहेको खार्दुमा घरवासको समेत निर्माण गरिएको छ । सदरमुकाम मान्मदेखि सो झरना करिब ४९ किलोमिटरको दूरीमा रहेको छ ।

प्रतिक्रिया