तीन दिनमा राजधानीबाट पाँच लाख बाहिरिए

admin

काठमाडौं, ८ चैत : सरकारले आगामी १० चैतबाट लामो दूरीका सार्वजनिक यातायात सञ्चालनमा रोक लगाएको छ । कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमण रोक्‍नका लागि सरकारले केही अवधिका लागि लामो दूरीका यातायात बन्द गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै केही अवधिका लागि लामो दूरीका सार्वजनिक यातायातमा रोक लगाइएको बताएका छन् । ‘आगामी चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।’ प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा भने । लामो दूरीका यातायात बन्द गरिए पनि काठमाडौं उपत्यकाभित्र सवारी सञ्चालनमा कुनै रोक लगाइएको छैन । यातायात व्यवस्था विभागले लामो दूरीका मात्र यातायात बन्द गरिने जनाएको छ ।

सरकारले नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडान ९ चैत १८ सम्म स्थगित गरेको छ । प्रधानमन्त्री ओलीले सीमा नाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने बताएका छन् । कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण काठमाडौं उपत्यकाबाट विगतका तीन दिनमा करिब ५ लाख मानिसले काठमाडौं उपत्यका छाडेका छन् ।
कोरोना भाइरसका कारण शैक्षिक संघ संस्थाको पठनपाठन र परीक्षा स्थगित भएपछि बाहिरिनेको संख्या वृद्धि भएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले विगत तीन दिनको तुलनामा ५ लाख बढी यात्रु बाहिरिएको अनुमान गरेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार बिहीबार एक लाख ८ हजार र बुधबार ९५ हजार यात्रु बाहिरिएका छन् । सरकारले शुक्रबार साँझ मात्र आगामी १० चैत्रबाट लामो दूरीका यात्रुवाहक सवारी साधन सञ्चालनमा रोक लगाएकोले अब बाहिरिनेको संख्या झनै बढ्ने देखिएको छ ।

सरकारको यस्तो निर्णयसँगै आज शनिबार र भोलि आइतबार काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या झनै बढ्ने अनुमान यातायात व्यवसायीले गरेका छन् । महासचिव सिटौलाले कति मान्छे बाहिरिन्छन् भन्ने अनुमान गर्न कठिन हुने भए पनि अझै २÷३ लाख बढी मानिस बाहिरिन सक्ने अनुमान गरेका छन् । राजधानी दैनिकले खबर छापेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू