काठमाडौं, १० चैत: सरकारले भारत र चीनसँगका सबै नाका सोमबारदेखि पूर्णरूपमा बन्द गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। उनका अनुसार नाकाबाट ढुवानीलगायत सामान आयात भने निरन्तर रहनेछ।
भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारको आलोचना भएको थियो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकले नाका बन्दको निर्णय गरेको हो।
‘बहुपक्षीय क्षेत्रीय सहयोग बढाउने र संक्रमण एक देशबाट अर्काे देशमा नफैलियोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय सरकारले लिएको हो’, बैठकपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा. खतिवडाले भने। यसो गर्दा छिमेकी मुलुकहरूको हितलाई पनि ध्यान दिइएको उनले बताए।
नाका भएका जिल्लालाई गृह मन्त्रालयले परिपत्रसमेत गरेको छ। विश्व स्वास्थ्य संगठनले नेपाल–भारत सीमा नाका बन्द गराउन नेपाललाई सुझाव दिँदै आएको थियो। बैठकले प्रधानमन्त्री कार्यालयले व्यवस्थापन गर्ने गरी केन्द्रीय कोष खडा गर्ने निर्णय गरेको छ।
कोषमा सरकारले ५० करोड राख्ने र मन्त्रीहरूले एक महिनाको तलब योगदान गर्ने एक मन्त्रीले बताए। कोषमा सहयोगका लागि सरकारले आह्वान गर्ने निर्णय भएको छ।
‘आमनागरिक र देश–विदेशबाट कोषमा स्वेच्छिक सहयोग गर्न सरकारले आह्वान गर्ने निर्णय गरेको छ’, ती मन्त्रीले भने। कोषले कोरोना नियन्त्रणका लागि आवश्यक औषधि, उपकरण खरिददेखि क्वारेन्टाइन व्यवस्थापनको काम गर्नेछ।
कोरोना उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई सरकारले प्रोत्साहन गर्ने भएको छ। ‘कोरोना उपचारमा संलग्न सबै स्वास्थ्यकर्मीलाई उत्प्रेरणाका लागि प्रोत्साहन भत्ता शतप्रतिशतसम्म दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ’, मन्त्री डा. खतिवडाले भने।
सरकारले कोरोना संक्रमित देखिए उपचारका लागि चन्द्रागिरी नगरपालिकास्थित सशस्त्र प्रहरी अस्पताल प्रयोगमा ल्याउन तोकेको छ। कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्नेलाई सशक्त कारबाही गर्ने निर्णय पनि बैठकले गरेको छ।
अन्तर्राष्ट्रिय हवाई यात्री सेवामा पनि पूर्ण रोक लगाइने भएको छ। यसअघि कोरोना संक्रमित मुुलुकमा हवाई सेवा बन्द गरिएको थियो। कार्गोलगायत अत्यावश्यक वस्तु आयात–निर्यातका लागि मात्र अन्तर्राष्ट्रिय हवाई सेवा जारी राख्ने र यात्री सेवामा पूर्ण रोक लगाइएको हो।
हवाई सेवालाई अत्यावश्यक सेवामा राखिएकाले आन्तरिक सेवा भने नरोक्ने निर्णय भएको मन्त्रिपरिषद् स्रोतले बतायो। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।