लकडाउनको उल्लंघन गर्दै साइकल चलाएका १२ जनालाई ‘मुर्गा’ बनाइयो

admin

बुटवल, १२ चैत : लकडाउनको उल्लंघन गर्दै साइकल चलाएका १२ जनालाई प्रहरीले ‘मुर्गा’ बनाएर सजाय दिएको छ ।

भैरहवाको देवकोटा चोकबाट पवन मिष्ठान्न भण्डार जाने सडकमा ड्युटीमा रहेका ट्राफिक प्रहरीले उनीहरुलाई ‘मुर्गा’ बनाएका हुन् ।

प्रहरीले मोटरसाइकल र अन्य चारपांङ्ग्रे सवारी साधनलाई कारवाही नगरेको तर साइकलयात्रीलाई ‘मुर्गा’ बनाएर बहादुरी देखाएको स्थानीय व्यवसायी किस्मत विकले जानकारी दिए ।

जिल्ला प्रहरी प्रमुख एसपी हेमकुमार थापाले भने आफ्ना प्रहरीले यस्तो काम नगरेको दाबी गरेका छन् । उनले भने ‘मुर्गा बनाएको होइन, सम्झाई बुझाई गरेको हो ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख मधुसुदन लुइँटेलले घटनाबारे आफूलाई जानकारी आइनसकेको बताउँदै यसबारे बुझ्ने बताए ।

उनले बिहान प्रदेशका विभिन्न जिल्लामा लकडाउन उल्लंघन गरेका २ सय १६ वटा सवारी साधन नियन्त्रणमा लिइएको जानकारी दिए ।

प्रतिक्रिया