काभ्रेका १३ हजार बालबालिकाले पाए दादुरा–रुबेला विरुद्धको खोप

admin

काभ्रे: काभ्रेका १३ हजार बालबालिकाले दादुरा–रुबेला विरुद्धको खोप पाएका छन् । जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जिल्लाको ८ वटा स्थानीय तहमा चैत २ गतेदेखि १० गतेसम्म पहिलो चरणको दादुरा–रुबेला विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको थियो ।

९ महिना देखि ५ वर्ष मुनिका बालबालिकाका लागि दादुरा–रुबेला खोप लगाएका हुन् । जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार आठ स्थानीय तहको १३ हजार ६ सय ३ जना बालबालिकाले खोप लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले भुम्लु, चौरीदेउराली, तेमाल, रोशी गाउँपालिका र मण्डनदेउपुर, धुलिखेल, पाँचखाल र नमोबुद्ध नगरपालिकामा पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरेको थियो ।

आठ स्थानीय तहका लागि १८ हजार ५ सय ९३ जना बालबालिकालाई खोप लगाउनुपर्ने लक्ष्य थियो । नगरपालिका तर्फ मण्डन देउपुरमा सबैभन्दा बढी ९२.४६ प्रतिशत बालबालिकाले खोप पाएका छन् । त्यस्तै गाउँपालिका तर्फ सबैभन्दा बढी भुम्लु गाउँपालिकाका ७० प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।

प्रतिक्रिया