जुम्ला कनकासुन्दरीका बाटा बन्द

admin

जुम्ला, १४ चैत : यस वर्ष विश्वभर कोरोनाको त्रास भएपछि बाहिर रोजगारी र व्यवसाय गर्न गएका मानिसहरु आफ्नो गृह जिल्ला आउने क्रम बढ्दै छ ।

जुम्लाको सिंजा भेग एक पर्यटकीय क्षेत्र भए पनि रोजगारी नभएकाले यहाँका मानिस व्यापार व्यवसायका लागि छिमेकी राष्ट्र भारतदेखि तेस्रो मुलुकसम्म पुग्ने गर्छन् । मंसिर महिना जाने र चैत महिना आफ्नो गृह जिल्ला फर्कने उनीहरुको पुरानै चलन पनि हो ।

कतिपय मानिस बाह्रै महिना जिल्ला बाहिर बसेर व्यवसाय पनि गर्छन् । स्थानीयवासी जनक हमालले कोरोना सङ्क्रमणको जोखिमका कारण सरकारले देश नै लकडाउन गरेपछि यहाँका बासिन्दा रातमध्यरात नभनी आफ्नो घरमा पुग्ने गरेका छन् ।

यहाँका बासिन्दा बाहिर जिल्लाबाट आउने गरेकाले एकार्काका घरमा नजाऊन् र केही रुपमा उनीहरुलाई बन्देज होस् भनेर कनकासुन्दरी गाउँपालिका- ५ लुड्कु गाउँका युवाले आवतजावत गर्ने मूल बाटो नै बन्द गरेका छन् ।

मूल बाटो जुवा र काँडाले बारिएको छ । स्थानीयवासी उपेन्द्र न्यौपानेका अनुसार यही चैत २५ गतेसम्म एक घरबाट अर्को घर नजाने तथा छोरीबहिनी, इष्टमित्र कसैलाई पनि लुड्कु गाउँमा प्रवेश गर्न निषेध गरिएको छ ।

गाउँपालिकास्थित कोटघर स्वास्थ्यचौकीमा १० क्वारेन्टाइनको व्यवस्थापन गरिएको छ । जिल्ला बाहिरबाट आएका स्थानीयवासीलाई सहजै आफ्नो घरमा बस्न नदिएर १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरिएको स्वास्थ्यकर्मी दामोदर आचार्यले बताए ।

उनले भने, “हाडसिंजा स्वास्थ्यचौकीमा पनि १० बेडको क्वारेन्टाइन बनाएको छ । कोरोना भाइरसबाट बच्न यहाँका मानिसलाई एक घरबाट अर्को घर नजाने, भीडभाडमा नजाने, साबुनपानीले हात धुने र मास्कको प्रयोग गर्ने जस्तो विधि सिकाइएको छ ।”

प्रतिक्रिया