काभ्रेको महाभारतमा एउटा पनि छैन एम्बुलेन्स

admin

धुलिखेल, १४ चैतः कोरोना भाइरसको संक्रमित बढी हाले कहाँ र कसरी उपचार गर्ने भनेर अहिले काभ्रे जिल्लामा तयारी तीब्र पारिएको छ । तर जिल्लाका अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा भने अहिलेसम्म एउटा पनि एम्बुलेन्स नभएको पाइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जिल्लाभित्र सञ्चालन भइरहेका एम्बुलेन्सहरुको सूची तयार पर्दा महाभारत गाउँपालिकामा एउटा पनि एम्बुलेन्स भेटिएन । पालिकाका प्रवक्ता रविन मोक्तानले पनि एम्बुलेन्स नरहेको पुष्टि गर्नुभयो । कोभिड १९ रोकथाम, नियन्त्रण र ब्यवस्थापनका लागि जिल्लामा प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाको संयोजकत्वमा कमाण्ड पोष्ट गठन गरिएको छ ।

तर महाभारत गाउँपालिकामा संक्रमित भेटियो भने कुन साधन मार्फत अस्पतालसम्म पुर्याउने भन्ने चिन्ता जनप्रतिनिधिलाई लागेको छ । महाभारत जस्तै विकट खानीखोला गाउँपालिकामा एउटा एम्बुलेन्स रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख, डाक्टर नरेन्द्र कुमार झाले बताउनुभयो । सबैभन्दा बढी बनेपा नगरपालिकाभित्र ६ वटा एम्बुलेन्स सञ्चालनमा छन् ।

कोशीपारी क्षेत्रमा पर्ने चौरीदेउराली र भुम्लु गाउँपालिकामा ३÷३ वटा एम्बुलेन्स सञ्चालनमा छन् । रोशी र बेथानचोक गाउँपालिकामा २÷२ वटा एम्बुलेन्स छन् । पनौती र मण्डनदेउपुर नगरापलिकामा ३÷३ वटा एम्बुलेन्स छन् भने पाँचखाल नगरपालिकामा ४ वटा एम्बुलेन्स रहेको जिल्ला स्वास्थ्य कार्यालय काभ्रे प्रमुख डाक्टार झाले बताउनुभयो ।

प्रतिक्रिया