रगतको अभाव, स्वेच्छिक रक्तदानका लागि आह्वान

admin

भद्रपुर, २० चैत : रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापाले स्वेच्छिक रक्तदानका लागि आह्वान गरेको छ । सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि लकडाउन गरेपछि रक्तदानसमेत ठप्प भएको छ ।

सोसाइटीका झापा अध्यक्ष लोकराज ढकालले तत्काल रक्तदान अभियान सञ्चालन नगरिने हो भने जिल्लामा रगतको हाहाकार हुनसक्ने बताए । सरकारले अस्पतालको ओपिडी सेवा बन्द गराए पनि सुत्केरी, डायलासिस र आकस्मिक शल्यक्रियाका लागि रगतको माग उच्च छ ।

विर्तामोड ब्लडबैंकबाट बीएण्डसी हस्पिटल, विर्तासिटी हस्पिटल, कनकाई हस्प्टिल, कञ्चजङ्घा हस्प्टिल, सञ्जीवनी हस्पिटल, मनमोहन सामुदायिक हस्पिटललगायत ठूला अस्पतालमा रगतको आपूर्ति हुँदै आएको छ ।

विर्तामोड ब्लडबैंकमा बिहीबार बिहानसम्ममा जम्मा १२ पिन्ट मात्र रगत मौज्दातमा रहेको विर्तामोड रेडक्रस सोसाइटी उपशाखाका अध्यक्ष शिवोकोटीले बताए । रेडक्रस सोसाइटीले विर्तामोडको बीएण्डसी हस्पिटल परिसरमा सञ्चालन गरेको ब्लडबैंकमा पनि रगतको मौज्दात सकिएको छ ।

प्रतिक्रिया