Home

अमेरिकामा कोरोनाभाइरसबाट छ हप्ताको शिशुको ज्यान गयो

admin

काठमाडौं, २० चैत : संयुक्तराज्य अमेरिकाको कनेक्टीकट राज्यमा एक जना छ हप्ताको शिशुको ज्यान गएको राज्यका गभर्नर नेड ल्यामोन्टले बताएका छन् । गभर्नर ल्यामोन्टले कोरोनाभाइरसका कारण राज्यमा पहिलो पटक एक शिशुको ज्यान गएको जानकारी दिए ।

बुधबार ट्वीट गर्दै गभर्नर ल्यामोन्टले भने, “यही कारण हामीले मानिसहरुलाई घरभित्रै बस्न र अरुसँग बाक्लो भेटघाट नगर्न आग्रह गरेका हौं । तपाइँको आफ्नै र अरु धेरैको जीवन वास्तवमै यसमा निर्भर छ ।”

स्वास्थ्य परीक्षण गर्दा यी बच्चामा कोविड-१९ को संक्रमण देखिएको पनि गभर्नरले बताए । कोविड-१९ का कारण यति कम उमेरका बच्चाको ज्यान गएको संभवत विश्वमै पहिलो घटना हो, गभर्नर ल्यामोन्टले भने ।

कनेक्टीकट राज्यको हार्टफोर्ड क्षेत्रका यी नवजात शिशुलाई गत साता अस्पताल ल्याइएको थियो । तर चिकित्सकहरुले उनलाई बचाउन सकेनन् । हार्टफोर्डका मेयर ल्युक ब्रोनिनले पनि नवजात शिशुको ज्यान गएको पुष्टी गरेका छन् ।

कनेक्टीकट राज्यमा बुधबारसम्ममा तीन हजार ५०० भन्दा बढी मानिसमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ८५ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया